काठमाडौं । दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म परान को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरिएको पोस्टरमार्फत फिल्म कार्तिक १४ गतेदेखि देशभर प्रदर्शन हुने घोषणा गरिएको छ।
फिल्ममा महेश त्रिपाठी र अञ्जना बराईलीलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। पोस्टरमा उनीहरू एकअर्काको अंगालोमा देखिन्छन्, जसले उनीहरू विवाहित जोडीको कथा बोकेको संकेत गर्छ। फिल्मको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले सम्बन्ध र भावनात्मक साथको महत्वलाई प्रस्ट्याउँछ।
बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको यो फिल्म गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा बनेको पहिलो प्रोजेक्ट हो। फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, पूजा चन्द, बुद्धि तामाङ, प्रवीण खतिवडा लगायत चर्चित कलाकारको पनि अभिनय रहेको छ।
दीपक आचार्यकै कथा र निर्देशनमा तयार भएको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन्। संगीत रिदम कंडेलको रहेको यस फिल्ममा प्रमोद खरेल, पुष्पन प्रधान, रचना रिमाललगायतले स्वर दिएका गीतहरू समावेश छन्। निर्देशक आचार्यले फर्स्टलुक सार्वजनिकसँगै अब फिल्मको प्रचारप्रसारलाई तीव्रता दिने बताएका छन्।
परान तिहारलगत्तै कार्तिक १४ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।
Comment