शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको चिर शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ललितपुरमा अन्तरधार्मिक प्रार्थना सभा सम्पन्न भएको छ। राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन) नेपालको आयोजनामा बुधबार सम्पन्न सभामा विभिन्न धर्मका गुरुहरूले शान्ति र मेलमिलापको सन्देश दिएका हुन्।

निरन नेपालका अध्यक्ष भिक्षु पिया दस्सी महर्जनले हिन्दु, बौद्ध, कृष्णप्रणामी, इस्लाम, ख्रिस्टियन, किराँत, बाही, जैन र ओशोधारा धर्मका गुरुहरूले दिवंगत आत्माको चिर शान्ति र देशमा मेलमिलापको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको जानकारी दिए।

हिन्दु धर्मगुरु पण्डित रामचन्द्र भण्डारीले प्रदर्शनपछिको वर्तमान परिस्थितिमा शान्ति कायम रहोस् भन्ने कामना गरिएको बताए। बौद्ध भिक्षु धर्ममुर्तीले “७५ भन्दा बढीको ज्यान गुमेको र अर्बौँको क्षति भएको घटनाले अब पुनः नदोहोरियोस्, बुद्ध जन्मिएको मुलुक शान्तिपूर्ण रहोस्” भन्ने धारणा व्यक्त गरे।

इस्लाम धर्मका मौलाना एमडी सलमानले घाइतेहरूको स्वास्थ्य लाभको प्रार्थना गरिएको बताए भने ख्रिस्टियन धर्म अगुवा इसुजंग कार्कीले अन्तरिम सरकारले निरन नेपालसँग सहकार्य गरेर शान्ति र मेलमिलापका लागि काम गरोस् भन्ने आग्रह गरे।

यसैगरी, सीआईएनका व्यवस्थापक दीपक आचार्यले जेन–जी पुस्ता, सुरक्षा निकाय, कर्मचारी तन्त्र, नागरिक समाज, सञ्चारमाध्यम र धार्मिक गुरुबीच सहकार्य गर्दै शान्ति अभियान सञ्चालन गरिने बताए। निरनकी व्यवस्थापक नहिदा वानुले शहीदहरूको सपना पूरा गर्न र शान्ति स्थापना गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता जनाइन्।

किरात धर्मका अगुवा तिलक चाम्लिङले पनि शान्ति र मेलमिलापको अभियान आफ्नै समुदायमा सञ्चालन गर्ने र सबैलाई धर्म र शान्तिप्रति प्रेरित गर्ने बताएका छन्।

प्रार्थना सभामा सहभागी सबै धर्मगुरुहरूले देशलाई स्थायी शान्ति, मेलमिलाप र सदाचारतर्फ डोर्‍याउन संयुक्त प्रतिबद्धता जनाएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।