काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, साउन महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको सेयर धितो कर्जा गत असार मसान्तको तुलनामा २.७ प्रतिशतले बढेको हो।
साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको कुल सेयर धितो कर्जा १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जसको तुलना असार मसान्तमा १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ रहेको थियो।
विशेष वर्गीकरणमा हेर्दा, साउनसम्ममा एक करोड रुपैयाँ भन्दा बढीको सेयर धितो कर्जा १ खर्ब १ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। यसै महिनामा मात्र २ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ बराबरको एक करोड माथिको सेयर धितो कर्जा प्रवाह भएको छ।
यस्तै, ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा साउनमा ५.५ प्रतिशतले बढेर १६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जा भने २.७ प्रतिशतले घटेर १७ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ। त्यस्तै, २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ६.७ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
यस तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरूको सेयर धितो कर्जा प्रवाहमा क्रमिक वृद्धिलाई पुष्टि गरेको छ।
Comment