निर्वाध रुपमा पेशा व्यवसाय गर्न आवश्यक सुरक्षा सामान अभाव हुन नदिन प्रयत्नशील रहन सदस्यहरुमा आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा जनधनमा पुगेको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गर्दै संवेदनशील अपिल सार्वजनिक गरेको छ।

महासंघले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। युवापुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोगजस्ता मुद्दालाई सकारात्मक रूपमा लिनुपर्नेमा जोड दिँदै महासंघले विवेकपूर्ण निर्णयसाथ मुलुक समुन्नतिको यात्रामा अघि बढ्नुपर्ने उल्लेख गरेको छ।

पछिल्ला घटनामा उद्यमी तथा व्यवसायीका उद्योग, प्रतिष्ठान, कार्यालय र निजी सम्पत्तिमा तोडफोड र आगजनी भई अर्बौं रुपैयाँ बराबरको क्षति भएको भन्दै महासंघले कडा भर्त्सना गरेको छ। यस्ता आक्रमण दोहोरिन नदिन सुरक्षा निकाय र सरोकारवालाको गम्भीर ध्यानाकर्षण गरिएको छ।

महासंघले निजी क्षेत्रको सुरक्षाविना मुलुकको समृद्धि, राजस्व वृद्धि र रोजगारीको सम्भावना असम्भव हुने स्पष्ट पारेको छ। आम सर्वसाधारण तथा व्यवसायीहरूले निर्वाध रूपमा पेशा–व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि तत्काल प्रभावकारी शान्ति–सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ।

निषेधाज्ञा वा कर्फ्युका अवस्थामा औषधि, खाद्यान्न, दूध, पानी, तरकारी, फलफूल, इन्धनजस्ता अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन पनि महासंघले जोड दिएको छ। यसका लागि केन्द्र, प्रदेश र जिल्ला तहमा रहने सुरक्षा समितिमा महासंघका प्रतिनिधि समावेश गरिनुपर्ने माग गरिएको छ।

यस्तै, उद्यमी व्यवसायीलाई गुणस्तरीय सामग्रीको नियमित आपूर्ति गरि कृत्रिम अभाव सिर्जना हुन नदिन सम्बन्धित संघ–संस्थालाई बजार अनुगमनमा सक्रिय हुन आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय विमानस्थल खुला भए पनि अधिकांश भन्सार नाका बन्द भएकोले अत्यावश्यक वस्तु आयात–निर्यात प्रभावित भएको भन्दै भन्सार नाकामा सुरक्षा व्यवस्था मिलाई नियमित सञ्चालन गर्न पनि महासंघले आग्रह गरेको छ।

महासंघले स्मरण गराएको छ कि निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको छ। यस्तो महत्वपूर्ण योगदानलाई सुरक्षित नगरी समुन्नत राष्ट्रको परिकल्पना सम्भव नहुने भन्दै महासंघले सरकार तथा सरोकारवालासँग सहकार्य गरेर स्थायी, युवा–मैत्री र व्यवसायिक वातावरण निर्माण गर्ने अठोट जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।