काठमाडौँ । आगामी चाडपर्वलाई लक्षित गर्दै सरकारले भदौ ३० गतेदेखि छठ पर्वसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले उपत्यकासहित २६ जिल्लामा यस्तो पसल सञ्चालन गर्ने तयारी गरेका हुन् । मन्त्रालयले भदौ ८ गते बसेको मन्त्रीस्तरीय बैठकमार्फत उक्त निर्णय गरेको हो ।
सुपथ मूल्य पसलमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, गहुँ, चिनी, दाल र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ, चिउरा, पिठो, मैदा र आँटामा सात रुपैयाँ, जिरा, धनिया, चिया, जिउँदो खसी, बोका र च्याङग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ । त्यस्तै तोरी, सनफ्लावर र भटमासको तेलमा प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी र बासमती चामलमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले भने नुन र चिनीमा प्रतिकिलो दुई रुपैयाँ, तेल, चिउरा, पिठो, मैदा र दालमा सात रुपैयाँ छुट दिनेछ ।
काठमाडौं उपत्यकामा कालिमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल र महाराजगञ्जसहित तीनवटा घुम्ती पसल सञ्चालन हुनेछन् । उपत्यकाबाहिर धनगढी, टिकापुर, अत्तरिया, बेलौरी, दिपायल, सुर्खेत, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, हेटौडा, नारायणगढ, त्रिशुली, पोखरा, बाग्लुङ, भैरहवा, कृष्णनगर, दाङ र डडेलधुरामा पनि सुपथ पसल सञ्चालन हुनेछन् ।
यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले झापा, मोरङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रसुवा, तनहुँ, गोरखा, लम्जुङ, मुस्ताङ, बाँके, बर्दिया, गुल्मी, रोल्पा, रुकुम, हुम्ला, कालिकोट, बाजुरा, बैतडी, जाजरकोट, जुम्ला, मुगु, बझाङ, अछाम, दार्चुलासहित ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्वमा उपभोक्तालाई सहज र सस्तो दरमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यसहित सरकारले यो पहल अघि सारेको हो ।
Comment