काठमाडौं । काभा महिला नेसन्स लिग भलिबल काठमाडौँको टुँडिखेलमा हुने भएको छ।
नेपाल भलिबल सङ्घले आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म सो प्रतियोगिता हुने जानकारी दियो। नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले दर्शकको चापलाई ध्यानमा राखी खुला मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको बताए।
टुँडिखेलमा आठ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरी प्रतियोगिता सञ्चालन गरिने छ। काभा महिला नेसन्स लिगमा सेन्ट्रल एसियाका आठ देशको सहभागिता रहने छ। यस लिगलाई विश्व वरीयताको प्रणालीलाई समावेश गर्न एफआइभिबीलाई अनुरोध गरिने जानकारी पनि अध्यक्ष चन्दले दिए।
प्रतियोगितामा सेन्ट्रल एसियाका आठ राष्ट्रले सहभागिता जनाउने छन्। प्रतियोगिताका लागि नेपाल सरकारले एक करोड र काठमाडौँ महानगरपालिकाले ३० लाख रुपियाँ बजेट दिएको बताइएको छ।
यसै गरी नेपाल भलिबल सङ्घले प्रतियोगिताको ब्रोडकास्टिङ तथा मार्केटिङ अधिकार हिमालय टेलिभिजनलाई दिएको छ। हिमालय टेलिभिजनले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने छ।
भलिबल सङ्घका अध्यक्ष चन्द र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले बुधबार ब्रोडकास्टिङ तथा मार्केटिङ अधिकारसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरेका थिए।
Comment