काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधन (ईभी) प्रवद्र्धनका लागि त्यसमा लाग्ने कर स्थिर राखिएको स्पष्ट पारेका छन्। उनले नेपालको कुल ऊर्जा खपत वृद्धि गर्न ईभी प्रयोगलाई प्राथमिकतामा राखेर बजेटमार्फत प्रोत्साहन गरिएको बताए।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कर नीति र दरमा स्थिरता कायम गरिएको बताए। “कर नीतिमा अनिश्चय होइन, स्पष्टता र दीर्घकालीन सोच आवश्यक छ,” उनले भने, “बजेट ल्याउने मात्रै होइन, कार्यान्वयनको दायित्व पनि सरकारकै हो।”
उनले हाल प्रस्तुत बजेट कार्यान्वयनतर्फ अघि बढिरहेको र कार्यान्वयन सुनिश्चित गर्न पूर्वतयारी तीव्र पारिएको जानकारी दिए। टेक एन्ड पे प्रणालीबारे उठेका अन्यौल हटाइएको र बैंक, वित्तीय संस्था तथा ऊर्जा उत्पादकहरू समेत सन्तुष्ट देखिएको भन्दै उनले प्रणाली सुधारको दिशामा सरकार सही बाटोमा अगाडि बढिरहेको उल्लेख गरे।
ऊर्जा उपयोगमा वृद्धि, इन्धन आयातमा निर्भरता घटाउने उद्देश्यसहित सरकारले विद्युतीय सवारी साधनमा कर छुटजस्ता सहुलियत व्यवस्था निरन्तरता दिएको मन्त्री पौडेलको भनाइ थियो।
Comment