काठमाडौं । अमेरिकी डलरको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार मात्रै इतिहासकै महँगोको रेकर्ड बनाएको डलरको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएक हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३४.२६ रुपैयाँ पुगेको छ ।
यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो । यसअघि हिजो १३४.२१ रुपैयाँ पुगेको थियो । यस्तै, आजका लागि १ अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ तोकिएको छ ।
डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।
विश्वव्यापी रूपमा डलरको माग बढेसँगै लगातार यसको मूल्य आकाशिएको हो । डलर विश्वव्यापी रूपमा भुक्तानी गर्न प्रयोग हुने मुद्रा हो । त्यसैले एकाध बाहेक अधिकांश देशले डलरको संचिति बढाउन तर्फ ध्यान दिएका हुन्छन् । साथै, डलरमाथिको अन्तर्राष्ट्रिय विश्वनियताले पनि यसको माग बढ्दै गएको हो । माग बढेपछि डलरको भाउ बढ्ने गरेको छ ।
डलरमा लगानी गरे जतिबेला पनि काम लाग्छ भन्ने सोचाइ संसारभरका देशहरूमा हुन्छ ।डलरमा गरिएको लगानी तुलनात्मक रुपमा सुरक्षित मानिने चलन रहेकाले पनि यसप्रति लगानीकर्ताको आकर्षण देखिन्छ ।
Comment