काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यो नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ४५.४६ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा आर्जनमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले समीक्षा अवधिमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड रुपैयाँ र एभरेस्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंकले समान १ अर्ब १८ करोड रुपैयाँ तथा एनएमबी बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका छन् ।
यस अवधिमा सिटिजन्स बैंकले उल्लेख्य सुधार गर्दै नोक्सानीबाट नाफामा फर्किएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ नोक्सानीमा रहेको बैंकले यस वर्ष १० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
प्रतिशतका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । उपलब्ध विवरणअनुसार यी बैंकको नाफा क्रमशः २५२२.४७ प्रतिशत र १८०३.७१ प्रतिशतले बढेको छ ।
यद्यपि, बैंकहरूको वितरणयोग्य नाफाको अवस्था भने फरक देखिएको छ । कुल २० वाणिज्य बैंकमध्ये पाँच बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।
ऋणात्मक वितरणयोग्य नाफामा एनआईसी एशिया बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकको वितरणयोग्य नाफा १५ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, हिमालयन बैंकको ९ अर्ब ७९ करोड रुपैयाँ, प्रभु बैंकको ६ अर्ब ७८ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ अर्ब १६ करोड रुपैयाँ र सिटिजन्स बैंकको ४४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख छ ।
असोज मसान्तसम्मको वितरणयोग्य नाफाका आधारमा एभरेस्ट बैंक पहिलो स्थानमा रहेको छ । बैंकले ३ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ वितरणयोग्य नाफा कायम गरेको छ ।
त्यस्तै, सिद्धार्थ बैंकको ३ अर्ब ५७ करोड रुपैयाँ, नेपाल बैंकको २ अर्ब ७५ करोड रुपैयाँ, नबिल बैंकको २ अर्ब २६ करोड रुपैयाँ, एनएमबी बैंकको २ अर्ब २५ करोड रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब २२ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।




Comment