काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कर्णाली प्रदेशको योगदान ४.२० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८२/८३ अनुसार कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा २ खर्ब ७७ अर्ब २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
राष्ट्र बैंकले समीक्षा अवधिमा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने अनुमान गरेको छ ।
प्रतिवेदनअनुसार राष्ट्रिय कृषि क्षेत्रमा कर्णालीको योगदान ५.५१ प्रतिशत, उद्योग क्षेत्रमा ३.०२ प्रतिशत र सेवा क्षेत्रमा ३.७६ प्रतिशत रहेको छ । प्रदेशको आफ्नै कुल गार्हस्थ्य उत्पादनमा भने कृषि क्षेत्रको योगदान ३१.५२ प्रतिशत, उद्योगको १०.०७ प्रतिशत र सेवा क्षेत्रको ५८.४१ प्रतिशत रहेको छ ।
कृषि उत्पादनमा सामान्य गिरावट
समीक्षा वर्षमा कर्णाली प्रदेशको समग्र कृषि बाली उत्पादन ०.४७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो गिरावट ७.५० प्रतिशत थियो ।
प्रमुख खाद्य बालीमध्ये धान उत्पादन ६.७६ प्रतिशत, मकै ०.२५ प्रतिशत, गहुँ २.५० प्रतिशत, कोदो ०.३४ प्रतिशत, जौ १३.७४ प्रतिशत र फापर २.५१ प्रतिशतले बढेको छ ।
तरकारी तथा बागबानी उत्पादन ३.७६ प्रतिशत र फलफूल उत्पादन ४.०५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
पशुपन्छीजन्य उत्पादनतर्फ दूध उत्पादन १५.८३ प्रतिशत, अण्डा ४.०१ प्रतिशत र ऊन उत्पादन ४४.६३ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, मासु उत्पादन २१.०८ प्रतिशत र छाला उत्पादन १४.१४ प्रतिशतले घटेको छ ।
उद्योगको क्षमता उपयोग ३०.९८ प्रतिशत
राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा नमुना छनोटमा परेका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ३०.९८ प्रतिशत रहेको छ । तीमध्ये राडीपाखी उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ६६.६७ प्रतिशत र प्रशोधित दूध उत्पादन गर्ने उद्योगको सबैभन्दा कम १०.१९ प्रतिशत रहेको छ ।
प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको हिस्सा ७.५२ प्रतिशत रहेको छ ।
त्यस्तै, प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २२.०३ प्रतिशतले बढेर १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । कुल कर्जा ९.७९ प्रतिशतले वृद्धि भई ६६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । प्रदेशको कर्जा–निक्षेप अनुपात ६०.१५ प्रतिशत रहेको छ । सबैभन्दा बढी कर्जा उपभोग्य क्षेत्रमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।
बाह्य पर्यटक आगमन २७ प्रतिशतले घट्यो
समीक्षा अवधिमा कर्णाली प्रदेशमा आउने बाह्य पर्यटकको संख्या २७.६८ प्रतिशतले घटेको छ । भारतबाट आउने पर्यटक ४६.३९ प्रतिशत, चीनबाट आउने ६७.६० प्रतिशत र तेस्रो मुलुकबाट आउने पर्यटक ३९.३९ प्रतिशतले घटेका छन् ।
पूर्वाधार विकास र पेट्रोलियम अन्वेषणमा प्रगति
पूर्वाधारतर्फ पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यले गति लिइरहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम पनि सकारात्मक रूपमा अघि बढिरहेको राष्ट्र बैंकले जनाएको छ ।
रोजगारीका लागि समीक्षा अवधिमा कर्णाली प्रदेशबाट ३० हजार ४९० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
प्रदेश सरकारको खर्च २० अर्बभन्दा बढी
आर्थिक वर्षको समीक्षा अवधिमा कर्णाली प्रदेश सरकारको कुल खर्च २० अर्ब ११ करोड ६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, प्रदेशको कुल राजस्व परिचालन २०.४१ प्रतिशतले वृद्धि भई १० अर्ब ८८ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
आगामी आर्थिक वर्षमा प्रदेश सरकारले कृषि प्रवर्द्धनसँगै ‘मेक इन कर्णाली’ र ‘मेड इन कर्णाली’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, औद्योगिक विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै अभियान अघि बढाउने सरकारको योजना रहेको छ ।




Comment