फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न अनुकूल वातावरण बनाउँदै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण भइरहेको बताएका छन् ।

सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर पौडेलले डिजिटल वित्तीय प्रणालीको विकास र जिम्मेवार नवप्रवर्तनका लागि सरोकारवाला निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताए ।

उनले नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीचको सहकार्यले मात्रै डिजिटल वित्तीय प्रणालीलाई प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

पौडेलका अनुसार कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत र प्रभावकारितामा व्यापक परिवर्तन ल्याउनेछ । यस्ता प्रविधिले वित्तीय समावेशिता बढाउनुका साथै आर्थिक विकासमा समेत योगदान पुर्‍याउने उनको भनाइ छ ।

नेपालमा विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट सुरु भएको डिजिटल वित्तीय सेवा अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको उनले बताए ।

फिनटेक क्षेत्रको विकासलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागअन्तर्गत ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको छ । त्यस्तै, ‘रेगुलेटरी स्यान्डबक्स’ कार्यान्वयनमा ल्याउनुका साथै सन् २०२६/२७ देखि २०३०/३१ सम्मका लागि ‘फिनटेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेज’ तर्जुमा गरी कार्यान्वयन अघि बढाइएको गभर्नर पौडेलले जानकारी दिए ।

यी पहलले बैंकिङ क्षेत्रमा नवीन प्रविधिको प्रयोग, नयाँ व्यावसायिक मोडेलको विकास र प्रविधिमा आधारित नवप्रवर्तकबीचको सहकार्यलाई थप मजबुत बनाउने उनको विश्वास छ ।

फिनटेक क्षेत्रको विकासमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायको भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले राष्ट्र बैंक र सरकारबीच निरन्तर समन्वय हुनुपर्नेमा जोड दिए ।

यसैगरी, राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा वित्तीय सेवा विस्तार, फिनटेक नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा काम गरिरहेको जनाएको छ । आगामी दिनमा यस्तो साझेदारी अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समेत विस्तार गरिने गभर्नर पौडेलले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।