बिचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान गर्न सरकारसँग गगन थापाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय सार्वजनिक भएका बिचौलियासँग सम्बन्धित सबै प्रकरणको गहिराइसम्म पुगेर निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले बिचौलियासँग जोडिएका सबै काण्ड र घटनाको सूक्ष्म अनुसन्धान गरी दोषी देखिएकालाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले अनुसन्धानमा आफ्नो पार्टीको पूर्ण साथ र समर्थन रहने स्पष्ट पार्दै अनुसन्धानका नाममा छानिएका व्यक्ति र घटनालाई मात्रै लक्षित गर्ने प्रवृत्ति देखिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

‘बिचौलियासँग सम्बन्धित विषयमा बाहिर आएका सबै काण्ड र प्रकरण रेसा–रेसा केलाइयोस् । जो–जो संलग्न हुन्छन्, गहिराइसम्म खोज्दै गएर कारबाही गरियोस् । हाम्रो साथ र समर्थन छ,’ थापाले भने ।

तर, सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विवरणले अनुसन्धान प्रक्रिया चयनात्मक हुन सक्ने आशंका जन्माएको उनको भनाइ छ । एउटा म्यासेज सार्वजनिक हुने, त्यसकै आधारमा जनमत निर्माण गरिने र त्यसपछि अनुसन्धानका प्रक्रिया अघि बढ्ने प्रवृत्तिले निष्पक्षतामाथि प्रश्न उठाएको उनले बताए ।

थापाले अनुसन्धान गर्ने निकाय र त्यसमा संलग्न व्यक्तिहरूकै भूमिकामाथि प्रश्न उठ्ने गरी समाचारहरू सार्वजनिक भइरहेको उल्लेख गर्दै समाचारमा नाम जोडिएकै आधारमा कसैलाई दोषी करार गर्न नहुने बताए । सबै विषयलाई प्रमाणका आधारमा निष्पक्ष छानबिन गर्नुपर्ने उनको जोड थियो ।

उनले सरकारले यसअघि गठन गरेका विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको विषयसमेत उठाए । गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रश्न उठेपछि गठन गरिएको समितिको प्रतिवेदन, भदौ २४ को घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन तथा सुनसरीको कप्तानगन्ज घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक नभएको भन्दै उनले सरकारसँग जवाफ मागे ।

‘सरकारले आफूलाई चाहिएको प्रतिवेदन प्रयोग गरेको छ, नचाहिएका प्रतिवेदनहरू थन्क्याएको छ । अर्थात्, नागरिकलाई हेपिएको छ,’ उनले भने ।

सभापति थापाले बिचौलिया प्रकरणलाई सामान्य रूपमा लिन नहुने बताउँदै अनुसन्धानलाई राजनीतिक आग्रह–पूर्वाग्रहबाट मुक्त राख्नुपर्नेमा जोड दिए । अनुसन्धान प्रक्रियाको नागरिकले सचेततापूर्वक निगरानी गर्नुपर्ने र संसद् तथा संसदीय समितिहरूले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

‘यो घटना अत्यन्तै संवेदनशील छ । यसलाई गहिराइमा पुगेर प्रमाणका आधारमा अनुसन्धान हुनुपर्छ । नागरिकहरूले पनि अनुसन्धानलाई सचेततापूर्वक निगरानी गर्नुपर्छ,’ थापाले भने ।

उनले अनुसन्धान चयनात्मक हुने आशंका व्यक्त गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।