विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान शुभारम्भ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण तथा व्यावसायिक सशक्तीकरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरेको छ।

एक वर्षसम्म सञ्चालन हुने यस अभियानमार्फत देशभरका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) सँग जोड्ने लक्ष्य राखिएको महासंघले जनाएको छ।

बागमती प्रदेश सरकारको पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्त, नेपाल पर्यटन बोर्डका योजना तथा अनुगमन प्रमुख लक्ष्मण गौतम, पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवन पोखरेल, महासंघका पूर्वअध्यक्ष अमृतबहादुर भुजेल तथा भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियालगायत पर्यटन तथा निजी क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव सुवेदीले नेपालको आतिथ्यता क्षेत्रलाई प्रतिस्पर्धी, आधुनिक र समयानुकूल बनाउन साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताउनुभयो। उहाँले डिजिटल प्रविधिको व्यावहारिक प्रयोग विस्तार नगरी आतिथ्यता क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन कठिन हुने उल्लेख गर्दै महासंघले थालेको अभियानलाई महत्वपूर्ण पहलका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। साथै अभियानलाई सफल बनाउन मन्त्रालयको पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न महासंघ सहकार्यका लागि तयार रहेको बताउनुभयो। उहाँले प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर क्षमता विकास, तालिम तथा व्यावसायिक सहकार्यका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्तले पनि निजी क्षेत्रको संस्थागत सहकार्य र व्यवसायीको क्षमता अभिवृद्धिमार्फत पर्यटन तथा आतिथ्यता क्षेत्रको दिगो विकासमा जोड दिनुभयो।

नेपाल पर्यटन बोर्डका योजना तथा अनुगमन प्रमुख लक्ष्मण गौतमले पर्यटन क्षेत्रको प्रवर्द्धन, व्यवसायीको क्षमता अभिवृद्धि तथा पर्यटनसम्बन्धी विभिन्न कार्यक्रमहरूमा बोर्डले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि सुरु गरिएको अभियान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा महासंघसँग सहकार्य गरेर अघि बढ्न पर्यटन बोर्ड तयार रहेको जानकारी दिनुभयो।

महासंघका अनुसार यो अभियान कुनै एक दिनको औपचारिक कार्यक्रम मात्र नभई एक वर्षसम्म सञ्चालन हुने राष्ट्रिय अभियान हो। विश्व पर्यटन दिवसले उठाएको डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी अन्तर्राष्ट्रिय अवधारणालाई आत्मसात् गर्दै सुरु गरिएको अभियानले नेपालको परम्परागत आतिथ्यतालाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’को नेतृत्वमा सञ्चालन हुने अभियानले विशेषगरी साना तथा मझौला होटल तथा रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै ठूला व्यवसायलाई समेत प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने उद्देश्य लिएको छ। डिजिटल प्रविधिको पहुँचबाट टाढा रहेका व्यवसायीलाई आवश्यक ज्ञान, सीप र प्राविधिक सहयोग उपलब्ध गराई व्यवसाय सञ्चालन, बजार पहुँच र सेवा प्रवाहमा सुधार ल्याउने अभियानको मुख्य उद्देश्य रहेको छ।

अभियानअन्तर्गत गुगल व्यवसायिक परिचय, गुगल नक्सामा व्यवसायको विवरण तथा स्थान व्यवस्थापन, अनलाइन बुकिङ प्रणाली, होटल व्यवस्थापन प्रणाली, डिजिटल बजार प्रवर्द्धन, सामाजिक सञ्जालको व्यावसायिक प्रयोग, क्यूआर भुक्तानी प्रणाली, ग्राहक समीक्षा व्यवस्थापन तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिनेछ।

विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग आसपास तथा नयाँ पर्यटकीय गन्तव्यमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल बजारसँग जोड्दै अनलाइन माध्यमबाट ग्राहक पहुँच र व्यावसायिक अवसर विस्तारमा सहयोग पुर्‍याइने महासंघले जनाएको छ। व्यवसायको आकार, स्थान र आवश्यकताअनुसार उपयुक्त प्रविधि छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकासमा विशेष ध्यान दिइने बताइएको छ।

महासंघले सातै प्रदेश, जिल्ला तथा आबद्ध संघ–संस्थाको संगठनात्मक सञ्जाल परिचालन गरी अभियानलाई देशभर विस्तार गर्ने योजना बनाएको छ। व्यवसायीको डिजिटल अवस्थाको पहिचान गर्दै आवश्यकता अनुसार प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराइनेछ।

पर्यटन, रोजगारी सिर्जना तथा उद्यमशीलताको महत्वपूर्ण आधारका रूपमा रहेको होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सुरु गरिएको यो अभियानले नेपाली आतिथ्यता क्षेत्रको व्यावसायिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। महासंघले अभियानलाई पहिलो चरणमा एक वर्ष सञ्चालन गरी त्यसलाई संस्थागत रूपमा निरन्तरता दिने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।