काठमाडौं । २०८२ सालको सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ। शनिबार काठमाडौंमा आयोजित तेस्रो इन्फा इन्टरनेसनल नेपाली फिल्म अवार्डको मञ्चबाट ‘कलेजी – ऊनको स्वीटर’ नामक सिक्वेलको औपचारिक घोषणा गरिएको हो।
निर्देशक नवीन चौहानका अनुसार चलचित्रको छायांकन आगामी दसैँपछि सुरु हुनेछ भने सन् २०२७ मा विश्वव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। सिक्वेलमा पनि विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा दोहोरिनेछन्। एलेक्स पारस, परीक्षा लिम्बू तथा भारतीय अभिनेता पियुष मिश्रा पनि चलचित्रमा देखिनेछन्।
चौहानले दर्शकको मागलाई सम्बोधन गर्दै सिक्वेल निर्माण गर्न लागिएको बताएका छन्। उनका अनुसार धरणीधर र फूलको अधुरो प्रेमकथाको नयाँ अध्याय सिक्किमबाट सुरु हुनेछ।
‘ऊनको स्वीटर’ले घरेलु बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै २०८२ सालको सुपरहिट चलचित्र बनेको थियो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जित्दै चलचित्रले हालसम्म १९ वटा पुरस्कार आफ्नो नाममा पारिसकेको छ।





Comment