काठमाडौँ । अभिनेता राजेश हमालले सुनसरीमा भएको दुखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा कायम राख्न आग्रह गरेका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै हमालले नेपाल केवल हिमाल, पहाड र तराईको भूगोल मात्र नभई विभिन्न समुदाय, संस्कृति र विश्वास बोकेका नेपालीहरूको साझा भविष्यको संकल्प भएको बताएका हुन्।
उनले नेपाललाई मन्दिर, मस्जिद, चर्च, गुम्बा वा अन्य धार्मिक संरचनाहरूको मात्र देशका रूपमा नहेर्न आग्रह गर्दै विविधताबीचको एकता नै राष्ट्रको बल भएको उल्लेख गरे। “नेपाल फरक–फरक क्षेत्रमा बस्ने, फरक–फरक विश्वास बोकेका नेपालीहरूको साझा भविष्यमा विश्वास गर्ने संकल्प हो,” उनले भने।
हमालले आपसी विश्वास कमजोर हुँदा केवल व्यक्ति वा समुदाय मात्र होइन, सम्पूर्ण राष्ट्र नै कमजोर हुने धारणा राखे। उनका अनुसार वर्तमान पुस्ताको व्यवहार र दृष्टिकोणले भविष्यका पुस्ताले एकअर्काप्रति कस्तो सोच र व्यवहार राख्नेछन् भन्ने निर्धारण गर्नेछ।
“हामी आउँदो पुस्तालाई विश्वासको वातावरण छोड्न चाहन्छौँ कि घृणाको? यो तपाईँ र हाम्रो हातमा छ,” उनले प्रश्न गर्दै सामाजिक एकता र पारस्परिक सम्मानको आवश्यकता औँल्याए।
सुनसरीमा भएको घटनाले प्रभावित क्षेत्र र परिवारहरूलाई मात्र नभई सम्पूर्ण नेपाली समाज र राष्ट्रलाई दुःखी बनाएको उनको भनाइ थियो। उनले सबै नागरिकलाई संयमता अपनाउन, सामाजिक सद्भाव जोगाउन तथा भाइचाराको भावना बलियो बनाउन आग्रह गरेका छन्।
हालै सुनसरीमा भएको घटनापछि सामाजिक सञ्जाल तथा विभिन्न क्षेत्रबाट शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने आवाज उठिरहेका बेला हमालको सन्देश पनि त्यसैको निरन्तरता रूपमा आएको छ।

Comment