निराज रानाभाट, ललितपुर । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको व्यस्त ग्वार्को–सातदोबाटो सडकखण्डमा अत्याधुनिक स्मार्ट एलईडी सडकबत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ।
बढ्दो सवारी चाप र रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्दै सडक सुरक्षामा सुधार ल्याउने उद्देश्यसहित उक्त सडकखण्डमा आधुनिक स्मार्ट बत्ती जडान कार्यलाई तीव्र रूपमा अघि बढाइएको हो।
जडान गरिएका स्मार्ट एलईडी बत्तीहरूले रातिको समयमा सडकलाई थप उज्यालो, सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ। ऊर्जा बचतका दृष्टिले पनि प्रभावकारी मानिएका यी बत्तीहरूले आवश्यकताअनुसार प्रकाशको स्तर स्वतः नियन्त्रण गर्ने क्षमता राख्छन्।
यस प्रविधिले सडक सुरक्षा सुधार गर्नुका साथै ललितपुरको शहरी सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। स्थानीय तहले आगामी दिनमा अन्य मुख्य सडकहरूमा पनि यस्तै स्मार्ट बत्ती विस्तार गर्ने योजना अघि सारेको जनाएको छ।


Comment