ट्रम्प, पुटिन र सीबीचको बैठकपछि जारी ‘शान्ति घोषणापत्र’मा के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ऐतिहासिक त्रिपक्षीय बैठक भएको छ। एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको सेन्झेनस्थित काइलिन भिल्लामा भएको बैठकपछि तीनै नेताले संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।

करिब एक घण्टा २० मिनेट चलेको उक्त बैठक तीनै देशका राष्ट्रपतिबीच भएको पहिलो त्रिपक्षीय भेटवार्ता हो। घोषणापत्रमा परमाणु युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै लडिनु नहुने विषयलाई विशेष जोड दिइएको छ।

बैठकमा पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति वृद्धि, ऊर्जा सुरक्षा र सरकारी अधिकारीहरूले पाउने उन्मुक्तिलगायतका विषयमा पनि छलफल भएको बताइएको छ। साथै, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्नो अधिकार क्षेत्रको दुरुपयोग गर्न नहुने विषय पनि घोषणापत्रमा समेटिएको छ।

बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वका ठूला शक्तिबीच सकारात्मक संवाद विकल्प मात्र नभई आवश्यकता भएको बताएका थिए। उनले अन्तर्राष्ट्रिय सम्बन्धमा संवाद र सहकार्यको महत्व औँल्याएका थिए।

त्यसैगरी, रुसी राष्ट्रपति पुटिनले रुस र चीनको युक्रेन युद्ध अन्त्य गर्ने साझा चासो रहेको बताउँदै खाद्य तथा ऊर्जा सुरक्षाका विषयमा समेत छलफल भएको जानकारी दिएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका तीन ठूला शक्तिका नेताहरूको मुख्य जिम्मेवारी संवादलाई निरन्तरता दिनु रहेको बताएका थिए। उनले विगतमा धेरै नेताहरू मतभेद भएका देशसँग संवाद गर्नबाट टाढिने गरेको उल्लेख गर्दै आफू भने संवादको पक्षमा रहेको बताए।

बैठकमा परमाणु हतियारको संख्या घटाउने तथा अन्य देशमा यसको प्रसार रोक्ने विषयमा पनि छलफल भएको थियो। ट्रम्पले इरानलाई परमाणु हतियार राख्न नदिने अमेरिकी धारणा पुनः दोहोर्‍याएका थिए।

तीन नेताबीचको बैठकलाई विश्व राजनीति, सुरक्षा र शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।