काठमाडौंका १० बालबालिका जलवायु परिवर्तनका सद्‌भावना दूत बन्दै, यस्तो छ महानगरको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ।

सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्‌भावना दूत घोषणा गरिनेछ।

स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

‘जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ। हामीले फेर्ने श्वासदेखि पिउने पानी र बस्ने सहरसम्म जलवायु परिवर्तनबाट प्रभावित छन्’, उनले भनिन्, ‘अब गरौँला-हेरौँला भनेर बस्ने समय छैन। त्यसैले काममै केन्द्रित भएर जलवायु कार्य सप्ताह आयोजना गर्न लागेका हौँ।’

उनले जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरणका लागि तत्काल कार्यान्वयनमा जानुपर्ने आवश्यकता औँल्याउँदै सप्ताहका क्रममा महानगरपालिकाले विभिन्न नयाँ कार्यक्रमको थालनी गर्ने बताइन्।

सप्ताहको पहिलो दिन विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसँग जलवायु परिवर्तनको प्रभाव, त्यसबाट प्रभावित समुदाय तथा न्यूनीकरणका लागि भइरहेका प्रयासबारे अनुभव आदानप्रदान गरिनेछ।

सोही दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौं अभियान’ सुरु गरिने कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन्। महानगरपालिकाभित्रका विद्यालयमा भूमिगत जल पुनःभरण गर्न सकिने सम्भावित स्थानको अध्ययनसमेत गरिएको उनले बताइन्।

दोस्रो दिन जलवायु वित्तका विषयमा विज्ञहरूसँग छलफल गरिनेछ। जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषयमा विमर्श हुनेछ।

तेस्रो दिन ‘नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असर’ विषयमा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ। परम्परागत हिटी प्रणालीको संरक्षण, ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शन र सम्पदा संरक्षणमा सामुदायिक ज्ञानको भूमिकाबारे छलफल गरिनेछ।

चौथो दिन ‘ऊर्जा प्रणाली र जलवायु परिवर्तन’ विषयमा स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण प्रविधि तथा फोहरमैला व्यवस्थापनका विषयमा समानान्तर सत्र सञ्चालन हुनेछन्। सोही दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गरिने तथा सफा टेम्पो र विद्युतीय सवारीसाधनको प्रयोग प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरिनेछ।

पाँचौँ दिनलाई ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाइनेछ। सो अवसरमा ५० भन्दा बढी विद्यालयमा एकैसाथ फोहर वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायु खेल, वृक्षरोपण योजना तथा सिर्जनात्मक सचेतना र कार्यमूलक गतिविधि सञ्चालन गरिनेछ। विद्यार्थीले विकास गरेका नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधिसमेत प्रदर्शनीमा राखिनेछन्।

जलवायु परिवर्तनका घटना र भविष्यमा पर्न सक्ने जोखिमबारे बालबालिकालाई सचेत तथा सक्रिय बनाउन ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगितासमेत आयोजना गरिएको महानगरपालिकाले जनाएको छ।

प्रतियोगितामा महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन्।

प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सात जनालाई जनही रु १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा उत्कृष्ट हुने १० जनालाई ‘काठमाडौं महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्‌भावना दूत’ घोषणा गरी वर्षभरि नै जलवायु संरक्षणसम्बन्धी सिर्जनात्मक गतिविधिमा सहभागी गराउने महानगरपालिकाको तयारी छ।

सप्ताहको छैटौँ दिन ‘खाद्य प्रणाली र जलवायु परिवर्तन’ तथा सातौँ दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था र अन्तरसरकारी संस्थाको दायित्वका विषयमा कार्यक्रम सञ्चालन गरिने कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन्।

हालै काठमाडौं फिल्म फेस्टिभल सम्पन्न गरेको महानगरपालिकाले त्यसलगत्तै जलवायु कार्य सप्ताह आयोजना गर्न लागेको हो। सप्ताहमार्फत जलवायु परिवर्तनका चुनौतीबारे छलफलमा मात्र सीमित नभई स्थानीयस्तरमा ठोस कामको थालनी गर्ने लक्ष्य रहेको महानगरपालिकाले जनाएको छ। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।