काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ४९.५१ प्रतिशतले बढेकोे हो ।
बैंकले पुस मसान्तसम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब १ करोड रुपैयाँ धेरै हो । बैंकले गत वर्ष पुससम्म २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशतले घटेर ८ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा भने ४७.८८ प्रतिशतले बढेर ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप ५.४४ प्रतिशत र कर्जा लगानी १०.२ प्रतिशतले बढेको हो ।
हाल ३८ अर्ब ११ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ६४ करोड रुपैयाँ । यस अवधिमा बैंकको जगेडा कोषमा भने २३ अर्ब ८७ करोड संचित छ । पुससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ६४ करोड रुपैयाँ छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.३१ रुपैयाँबाट बढेर १६.०२ रुपैयाँ पुगेको छ ।
पुससम्म बैंकको प्रतिसेयर नेटवर्थ १६९.५८ रुपैयाँ, बेसरेट ६.९५ प्रतिशत, सीडी रेसियो ७८.५३ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा भने बढेर सीमा नजिक पुगेको छ । गत वर्ष ४.६८ प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्ष बढेर ४.८६ प्रतिशत पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।