add

माथिल्लो तामाकोशी आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी






ActPro Nepal

|

४ कार्तिक, २०८१

|
22

काठमाडौं । दोलखामा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिक रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी र पहिरोले बाँध क्षेत्रका संरचना हेडवर्क्समा क्षति पुर्याएपछि बन्द भएको उक्त आयोजना मर्मत सम्भार गरेर आंशिकरुपमा सञ्चालनको तयारी भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिए ।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध नजिकैको भवन पहिरोले पुरिँदा चार जनाको मृत्युसमेत भएको थियो । पहिरो हटाउने काम थालिएको उनले बताए ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार प्रवेशमार्ग काभ्रेभीर सडकमा क्षति पुगेका कारण बाँधस्थलमा उपकरण लैजान कठिनाइ भएको छ । यसबाट मर्मत गर्न समय लागेको उनको भनाइ छ । बाँधमा थुप्रिएको ढुङ्गा, बालुवा, गिट्टीलगायत सामग्री सफा गर्ने काम सकिएपछि बाँध मर्मत कार्य अघि बढाइने छ ।

‘तिहार लगत्तै विद्युुत् उत्पादन थाल्छौँ,’ उनले भने । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी, नहरलगायत संरचनामा क्षति पुगेको छ । पहिरोले विभिन्न संरचनामा अत्यधिक क्षति पुर्याएपछि विद्युत् पुरै उत्पादनमा समय लाग्ने आयोजनाले जनाएको छ ।

विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण आवतजावत गर्न समस्या भएको आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए ।

पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा र लेदो थुप्रिएको छ । बाढी पहिरोबाट २ अर्ब रुपैयाँको क्षति भएको बताइएको छ । विद्युत् उत्पादन बन्द हुँदा दैनिक ४ करोड रुपैयाँ आम्दानी गुमाउनु परेको आयोजनाले जनाएको छ । आयोजनाको सम्पूर्ण मर्मत कार्य सम्पन्न गर्न कम्तीमा ६ महिना लाग्ने अनुमान गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.