add

कात्तिकका लागि पनि बैंकहरूले घटाए निक्षेपको ब्याजदर






ActPro Nepal

|

३० असोज, २०८१

|
10

काठमाडौं । कात्तिक महिनाका लागि १० वटा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । त्यस्तै, सानिमा बैंकले बढाएको छ भने ९ वटाले असोजकै ब्याजदर स्थिर राखेका छन् ।

गत आर्थिक वर्षको कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले असोजमा पनि थप घटाएका हुन् । बैंकिङ प्रणालीमा अधिक लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् ।

बैंकिङ प्रणालीमा अहिले साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । साथै, राष्ट्र बैंकले पनि निक्षेप बोलकबोल मार्फत हप्तैपिच्छे अर्बौं रुपैयाँ खिच्दै आएको छ ।

महँगो ब्याजमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशतमै राख्नुपर्ने बाध्यता आएपछि बैंकहरूले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।

असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.२१ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.०८ प्रतिशत बिन्दुले घटाएका छन् । असोजमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.४० प्रतिशत रहेकोमा कात्तिकमा घटेर ६.१९ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर असोजमा ५.२० प्रतिशत रहेकोमा कात्तिकमा घटेर ५.१२ प्रतिशतमा झरेको छ ।

कात्तिकका लागि १० वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । जसमा सिटिजन्स र हिमालयन बैंकले सबैभन्दा धेरै व्यक्तिगततर्फ ०.७५ प्रतिशत बिन्दु घटाएका छन् । संस्थागततर्फ हिमालयनले सबैभ्न्दा धेरै ०.७५ प्रतिशत बिन्दुले घटाएको छ ।

त्यस्तै, कात्तिकमा लक्ष्मी सनराइज, सिद्धार्थ, नबिल। स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, प्राइम कमर्शियल, राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एशियाले ब्याजदर घटाएका छन् ।

कात्तिकमा सानिमा बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । कात्तिकमा नेपाल, नेपाल एसबीआई, एभरेष्ट, कुमारी, प्रभु, ग्लोबल आइएमई, एनएमबी, नेपाल इन्भेष्टमेन्ट मेगा र माछापुच्छे बैंकले भने असोजक ब्याजदरलाई निरन्तरता दिएका छन् ।

कात्तिकमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.२५ प्रतिशत बिन्दुसम्म फरक भएको छ । माछाप्च्छेले सर्वाधिक ७ प्रतिशत ब्याजदर दिने भएका छन् भने सिटिजन्सले सबैभन्दा कम ५.७५ प्रतिशत ब्याज दिने भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार तेह्रौं महिना हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि २०८० असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर २०८० कात्तिकदेखि लगातार ब्याजदर घटाउँदै आएका छन् ।

२०८० साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । त्यसअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.