add

डुम्रे-बेँसीसहर सडक दुई लेनको बन्दै, ६.५ किलोमिटरमा कालोपत्र सकियो






ActPro Nepal

|

१६ फागुन, २०८०

|
174

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक २ लेन बनाएर ६.५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।

तनहुँ डुम्रे बजारबाट २२० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी इञ्जिनियर किरण पोखरेलले बताए । यहाँ ‘अस्फाल्ट’ किसिमको कालोपत्र भइरहेको छ ।

हालसम्म पाइप कल्भर्ट, स्याल्भ कल्भर्टको काम, सडक चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम सम्पन्न भएको छ । सो सडकमा च्याम्बास बजारमा रहेको घरनिर र डुम्रे बजारको पुल नजिकैको भागमा नाली बनाउने काम भइरहेको उनको भनाइ छ । केही समय कालोपत्रको लागि सामग्री अभाव भएर रोकिए पनि केही दिनअघिदेखि कालोपत्रको काम सुरु भइरहेको र तीव्र रुपमा अघि बढ्ने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कालोपत्र गर्न बाँकी रहेको अधिकांश भागमा पनि तह मिलाउने कार्य सम्पन्न भएको छ । तनहुँको डुम्रे बजारबाट लमजुङतर्फ निर्माणाधीन यस सडक राजमार्गको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ । त्यस्तै, १०/१० मिटरको लगतकट्टा भइसकेको छ । अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बनिरहेको उक्त कार्यालयले जनाएको छ । यसअघि ३.७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा सात मिटरको हुनेछ ।

त्यस्तै, दायाँबायाँ एक÷एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण भएको छ । उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले विसं २०७७ वैशाख २२ गते सम्झौता गरेको थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन सकेन । पुनः म्याद थप गर्दै आगामी असार मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्ने इञ्जीनीयर पोखरेलले बताए ।

च्याम्बारका घरका विवाद र सडकमा पर्ने बिजुलीका पोलका कारणले समेत निर्माणमा ढिलाइ भए पनि यतिबेला सबै समस्याको समाधान भएको बताइएको छ । कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दुरीमा रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटरको छ । सडकका लागि भ्याट बाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले रु ३८ करोड ९ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ  ।

छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको बेँसीसहरसम्मको ४२ किलोमिटर सडकको काम सक्न करिब साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे बेँसीसहरको सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयवासी समेत आवतजावत गर्दछन् ।

सडक दुई लेन भई कालोपत्र सम्पन्न भएपश्चात् तीन जिल्लाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यात्रा थप सहज हुनुका साथै समय समेत घट्नेछ । उक्त स्थानमा मात्र नभई डुम्रेदेखि बेँसीसहरसम्ममै दुई लेनको सडक निर्माण गरेर कालोपत्र गरेमा यात्रा झनै सहज हुने स्थानीयवासीको भनाइ छ ।

लमजुङका स्थानीयवासी यातायातको सुविधा नहुँदा डुम्रेसम्म हिँडेरै खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री ल्याउनेसमेत गर्दथे । त्यस्तै, काठमाडौँ, पोखरा जानुपर्दा यहाँका स्थानीयवासी हिँडेरै डुम्रे बजारसम्म पुग्ने गरेको थिए । उक्त बाध्यता हटेपनि अझै यात्रा भने सहज हुनसकेको छैन । अहिले सडक ट्र्याक खुलेर एक लेनबाट पनि दुई लेन हुँदैछ ।रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.