काठमाडौं । वैदिक सनातन हिन्दू परम्पराअनुसार प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि प्रारम्भ भएको छ। पितृ पक्षको पहिलो दिन दिवंगत पितृहरूको स्मरणमा तर्पण, सिदादान र पिण्डदान गरी प्रतिपदा श्राद्ध गरिने धार्मिक परम्परा रहेको छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवंगत पितृप्रति श्रद्धाञ्जली अर्पण गर्दै तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस अवधिलाई पितृ पक्ष वा सोह्र श्राद्ध भनिन्छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले चाडपर्व, यज्ञ तथा अन्य महत्वपूर्ण धार्मिक तथा माङ्गलिक कार्यअघि पितृहरूको स्मरण गर्ने परम्पराअनुसार यो पक्षलाई विशेष महत्व दिने गरेका छन्।
धर्मशास्त्रीय मान्यताअनुसार पितृ पक्षका बेला पितृलोकबाट दिवंगत पितृहरू आफ्ना सन्तानबाट पिण्ड र जल प्राप्त गर्ने आशामा मर्त्यलोकमा आउने विश्वास गरिन्छ। यस अवधिमा श्रद्धापूर्वक श्राद्ध कर्म गरे पितृ सन्तुष्ट हुने र सन्तानले पितृऋणबाट मुक्ति पाउने धार्मिक विश्वास छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार पितृ पक्षमा श्राद्ध नगर्दा शास्त्रीय रूपमा दोष लाग्ने मान्यता रहेकाले श्रद्धालुहरूले विधिपूर्वक श्राद्ध गर्ने चलन छ।
सोह्र श्राद्धअन्तर्गत नान्दीमुखी श्राद्ध, एकोद्दिष्ट श्राद्ध, पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा बद्रीस्थित ब्रह्मकपालमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता विभिन्न विधि प्रचलनमा रहेका छन्।
पितृ पक्षका अवसरमा गोकर्णेश्वर उत्तरगया, बेत्रावती, देवघाट, त्रिवेणीलगायतका तीर्थस्थलमा प्रत्येक वर्ष श्रद्धालुको भीड लाग्ने गर्दछ। पितृहरूको सम्झनामा तर्पण र पिण्डदान गर्न देशभरका तीर्थस्थलमा श्रद्धालु पुग्ने परम्परा रहिआएको छ।
धर्मशास्त्रविद्हरूका अनुसार निर्धारित समयमा श्राद्ध गर्न नसकिएमा शास्त्रले विभिन्न वैकल्पिक व्यवस्था पनि दिएको छ। आपत्कालीन अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था रहेको बताइएको छ। यस अवधिमा पनि सम्भव नभए कार्तिक कृष्ण औँसी वा अन्य शास्त्रीय रूपमा निर्दिष्ट तिथिमा श्राद्ध गर्न सकिने उल्लेख गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार विशेष परिस्थितिमा श्राद्ध स्थगित भएमा अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेका दिनहरूमा समेत सोह्र श्राद्ध सम्पन्न गर्न सकिने शास्त्रीय व्यवस्था छ।
धर्मशास्त्रविद्हरूले श्राद्ध कर्म प्रत्यक्ष रूपमा विधिपूर्वक सम्पन्न गर्नु उपयुक्त हुने बताउँदै विद्युतीय माध्यमबाट गराइने श्राद्ध सबै अवस्थामा शास्त्रसम्मत नहुने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार यजमान स्वयं विधि जान्ने भए मात्र भर्चुअल माध्यमबाट श्राद्ध सम्भव हुन्छ, अन्यथा शास्त्रीय विकल्प अपनाउनुपर्ने हुन्छ।
पितृ पक्षलाई हिन्दू धर्मावलम्बीहरूले पितृप्रति कृतज्ञता व्यक्त गर्ने, स्मरण गर्ने र धार्मिक दायित्व पूरा गर्ने विशेष अवसरका रूपमा मनाउने गरेका छन्।




Comment