काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै सात लाख ८३ हजार ८३६ क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ। समूहले शनिबार नयाँ अनलाइन पोर्टल सार्वजनिक गर्दै सदस्यता व्यवस्थापनलाई डिजिटल माध्यमबाट अघि बढाउने योजना पनि सार्वजनिक गरेको हो।
काठमाडौंको महाराजगन्जस्थित चुनदेवी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको उपस्थितिमा सदस्यताको विवरण निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई हस्तान्तरण गरिएको थियो।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार कुल सदस्यमध्ये पाँच लाख ७३ हजार २६९ जना पुराना सदस्यको नवीकरण गरिएको छ भने दुई लाख १० हजार ५६७ जना नयाँ सदस्य थपिएका छन्।
पौडेलले विगतका महाधिवेशनमा क्रियाशील सदस्यतासम्बन्धी विवादले अधिवेशन प्रक्रियामा असर पारेको उल्लेख गर्दै यसपटक सदस्यताको विवरण व्यवस्थित रूपमा तयार गरी निर्वाचन समितिलाई बुझाइएको बताए। उनका अनुसार भविष्यमा यस्ता विवाद कम गर्न डिजिटल प्रणालीलाई प्राथमिकता दिइएको छ।
सोही अवसरमा सार्वजनिक गरिएको नयाँ वेबसाइटमार्फत आगामी दिनमा क्रियाशील सदस्यताका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले चार दिनमै पोर्टल तयार गरिएको जानकारी दिँदै साइबर सुरक्षालाई विशेष प्राथमिकता दिइएको बताए। उनले वेबसाइटलाई आगामी दिनमा थप विस्तार र परिष्कृत गर्दै लैजाने योजना रहेको पनि उल्लेख गरे।
निर्वाचन समितिका संयोजक पोखरेलले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार असोज १५ गतेदेखि देशभर वडा अधिवेशन सुरु हुनेछ र अधिवेशनका नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी गरिएको छ।
देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। समूहले देशभर केन्द्रीय प्रतिनिधि परिचालन गर्नुका साथै ५५ जिल्लामा महाधिवेशन तयारीका लागि संयोजकसमेत तोकेको जनाएको छ।
महाधिवेशन तयारी समितिले सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका एक महिला र एक पुरुष नवयुवाको प्रतिनिधित्व अनिवार्य गर्ने व्यवस्था निर्वाचन निर्देशिकामा समावेश गरेको छ।
यता पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले भने असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाइरहेको जनाएको छ। संस्थापन पक्षका अनुसार वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन जारी छन्।
कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिक र महाधिवेशनमा सहभागी हुने सदस्यको योग्यताका विषयमा लामो समयदेखि मतभेद रहँदै आएको छ। संस्थापन पक्षले डिजिटल प्रणालीमार्फत अद्यावधिक भएका सदस्यलाई मात्रै महाधिवेशनमा सहभागी गराउने व्यवस्था अघि सारेको छ भने देउवा पक्षले नवीकरण भइसकेका सदस्यलाई पुनः अद्यावधिक नगरेकै आधारमा महाधिवेशनबाट वञ्चित गर्न नहुने अडान राख्दै आएको छ।
दुवै पक्षले छुट्टाछुट्टै कार्यतालिका र सदस्यता व्यवस्थापन प्रक्रिया अघि बढाइरहेका बेला कांग्रेसभित्र महाधिवेशनको आधिकारिकता र सदस्यता विवाद थप जटिल बन्दै गएको छ।




Comment