काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका छन्।
एआईजीको ५६ वर्षे उमेर हदका कारण उनी बिहीबार रातिदेखि अनिवार्य अवकाश हुने भएका हुन्। गत वैशाख १८ गते मन्त्रिपरिषद्ले सिंहलाई प्रहरीको नयाँ महानिरीक्षक बनाउने निर्णय गरेपछि पोखरेल असन्तुष्ट बनेका थिए। उनी पनि महानिरीक्षकका दाबेदार थिए। उक्त निर्णयपछि पोखरेलले तत्कालीन महानिरीक्षक शैलेस थापासँग एक महिनाको विदा स्वीकृत गराएका थिए।
विदा लिएर पोखरेलले मन्त्रिपरिषदको निर्णयविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। एक महिनाको विदा सकिएपछि उनले विदा थप्न निवेदन दिएका थिए तर आइजिपी सिंहले उनको विदा स्वीकृत गरेका थिएनन्।
सर्वोच्चले असार ३१ गते पोखरेलको रिट खारेज गरिदिएको थियो। त्यसपछि उनले राजीनामा दिएका थिए।
तर अनिवार्य अवकाशमा जानु चार महिना पहिले देखि नै कार्यालयमा हाजिर भएका छैनन्।
आफ्नै ब्याची पोखरेललाई अप्ठेरोमा पार्ने पक्षमा सिंह नरहेको स्रोतले बतायो। यसअघि मुद्दाको सुनुवाइ लम्बिँदा पोखरेलले बिदा मागेका थिए। तर त्यतिबेला पनि सिंहले उनको बिदा स्वीकृत गरेका थिएनन्।
बिदा अस्वीकृत भए पनि पोखरेल हाजिर भएका थिएनन्। उनी गयल भएकै अवस्थामा उनलाई मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो।
सेवा अवधिका हिसाबले आगामी चैतसम्म समय भएपनि आफ्नै उमेर हदका कारण पोखरेल छिटो अवकाश भएका हुन्। उनी २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।