काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सामान्य वृद्धि भएको छ । कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कुल निक्षेप २.९५ प्रतिशत र कर्जा लगानी २.८१ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार मसान्तमा ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ रहेको बैंकहरूको कुल निक्षेप कात्तिक मसान्तसम्म २ खर्ब २१ अर्ब ५६ करोड रुपैयाँले बढेर ७७ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, यस अवधिमा बैंकहरूको कुल कर्जा लगानी १ खर्ब ४८ अर्ब ७१ करोड रुपैयाँले बढेर ५४ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलनको वृद्धिदर कर्जा विस्तारभन्दा बढी हुँदा बैंकिङ प्रणालीमा करिब ७३ अर्ब रुपैयाँ थप तरलता बढेको देखिन्छ ।
कर्जा लगानीमा ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा
कर्जा लगानीका आधारमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा उक्लिएको छ । असार मसान्तसम्म ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानीसहित पहिलो स्थानमा रहेको नबिल बैंकलाई पछि पार्दै ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा पुगेको हो ।
कात्तिक मसान्तसम्म ग्लोबल आईएमई बैंकको कर्जा लगानी ६.४४ प्रतिशतले बढेर ५ खर्ब ७ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । नबिल बैंकको कर्जा लगानी ३.६० प्रतिशतले बढेर ५ खर्ब ५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब ६० अर्ब ३८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ खर्ब ४६ अर्ब ७३ करोड र लक्ष्मी सनराइज बैंकले ३ खर्ब ३६ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
प्रतिशतका आधारमा कर्जा विस्तारमा ग्लोबल आईएमईपछि कुमारी बैंक ६.२० प्रतिशत र माछापुच्छ्रे बैंक ५.४२ प्रतिशतसहित अगाडि छन् । यता एनआईसी एशिया बैंकको कर्जा लगानी २.४३ प्रतिशत र प्रभु बैंकको २.३४ प्रतिशतले घटेको छ ।

निक्षेप संकलनमा पनि ग्लोबल आईएमई अगाडि
निक्षेप संकलनतर्फ पनि ग्लोबल आईएमई बैंक पहिलो स्थानमा रहेको छ । बैंकले कात्तिक मसान्तसम्म ७ खर्ब १९ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक ७ खर्ब १३ अर्ब ८८ करोड रुपैयाँसहित दोस्रो र नबिल बैंक ६ खर्ब ३० अर्ब ६७ करोड रुपैयाँसहित तेस्रो स्थानमा छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ खर्ब ३४ अर्ब ६५ करोड र लक्ष्मी सनराइज बैंकले ४ खर्ब ४५ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
निक्षेप वृद्धिदरमा भने नेपाल एसबीआई बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको निक्षेप चार महिनामा ११.८४ प्रतिशतले बढेर २ खर्ब ३७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । एभरेष्ट बैंकको निक्षेप ६.०७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५.९७ प्रतिशत र कुमारी बैंकको ४.९३ प्रतिशतले बढेको छ ।
समग्रमा १७ वटा बैंकको निक्षेप बढ्दा एनआईसी एशिया, कृषि विकास र प्राइम कमर्सियल बैंकको निक्षेप भने घटेको छ । एनआईसी एशिया बैंकको निक्षेप २.५८ प्रतिशतले घटेर ३ खर्ब ३६ अर्ब ७९ करोड, कृषि विकास बैंकको १.१५ प्रतिशतले घटेर ३ खर्ब ४७ अर्ब ७४ करोड र प्राइम कमर्सियल बैंकको १.१३ प्रतिशतले घटेर २ खर्ब ८० अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता, कर्जा विस्तार भने सुस्त
चार महिनाको तथ्यांकले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार अपेक्षाकृत गतिमा हुन नसकेको देखाएको छ । बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) करिब ७०.३६ प्रतिशत रहेको छ । यसले बैंकहरूसँग थप कर्जा लगानी गर्न सक्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले वार्षिक कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखेको भए पनि पहिलो चार महिनामा कर्जा लगानी करिब २.८१ प्रतिशत मात्रै बढेको छ । दशैं, तिहार र छठजस्ता ठूला पर्वका कारण आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिए पनि कर्जा प्रवाहमा त्यसअनुसारको विस्तार देखिएको छैन ।
निक्षेप वृद्धि उच्च हुनु, कर्जा माग अपेक्षाकृत कमजोर रहनु र बैंकिङ प्रणालीमा तरलता पर्याप्त हुनुका कारण आगामी दिनमा निजी क्षेत्रतर्फ कर्जा विस्तार बढ्ने सम्भावना देखिएको छ । ब्याजदर घट्दो क्रममा रहँदा आर्थिक गतिविधि थप चलायमान भएमा बैंकहरूको कर्जा लगानीमा सुधार आउने अपेक्षा गरिएको छ ।




Comment