काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु गरेको छ ।
ग्राहकबाट उत्साहजनक माग र प्रारम्भिक बुकिङ प्राप्त भएपछि कम्पनीले गाडीको डेलिभरी सुरु गरेको हो । काठमाडौंमा सफल सडक परीक्षण तथा औपचारिक सार्वजनिक कार्यक्रम सम्पन्न भएसँगै पहिलो समूहका ग्राहकले आफ्ना गाडी प्राप्त गरिसकेका छन् । यससँगै लिपमोटर बी०३ एक्स नेपाली सडकमा गुड्न थालेको छ ।
नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर ल्याइएको बी०३ एक्समा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार गाडीले सीएलटीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज दिन्छ । यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १६ मिनेट लाग्ने फास्ट चार्जिङ सुविधा पनि छ ।
गाडीको भित्री भागमा १४.६ इन्चको टचस्क्रिन, १२ वटा स्पिकरयुक्त साउन्ड सिस्टम तथा लेभल–२ एडीएएस सुरक्षा प्रविधि समावेश गरिएको छ । त्यस्तै, ५१० लिटर क्षमताको बुट स्पेस रहेको यस गाडीमा पछाडिका सिट फोल्ड गर्दा सामान राख्ने क्षमता बढाएर १ हजार ६०५ लिटरसम्म पुर्याउन सकिन्छ ।
लिपमोटरले विश्वव्यापी अटोमोटिभ समूह स्टेलान्टिसको समर्थन प्राप्त गरेको छ । स्टेलान्टिसअन्तर्गत मासेराती, अल्फा रोमियो र प्युजोलगायत १४ वटा प्रमुख अटोमोबाइल ब्रान्ड रहेका छन् । कम्पनीका अनुसार लिपमोटर चीनको अग्रणी नयाँ ऊर्जा सवारीसाधन स्टार्टअपमध्ये एक हो ।
कम्पनीले विश्वभर १९ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ । सन् २०२५ को जुलाईदेखि अक्टोबरसम्म लगातार चार महिना मासिक एक लाखभन्दा बढी सवारीसाधन बिक्री गरेको कम्पनीको दाबी छ ।
हाल लिपमोटरको बिक्री तथा सेवा सञ्जाल ४५ भन्दा बढी देशमा विस्तार भएको छ । विश्वभर दुई हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत कम्पनीले ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।




Comment