‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि विनिता गुरुङलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले जितेकी छन् ।

रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिबार राति सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै खोटाङको दिक्तेलकी गुरुङले उपाधि जितेकी हुन् । विजेता बनेसँगै उनले स्कुटर प्राप्त गरेकी छन् ।

अधिवक्तासमेत रहेकी गुरुङले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । उनले ‘तपाईंको बजार बेस्ट पर्सनालिटी’ उपाधिसमेत जितेकी छन् ।

प्रतियोगितामा नेहा गुप्ता फस्ट रनर्सअप बनिन् भने ज्योति लामिछाने सेकेन्ड रनर्सअप र सगुन खनाल थर्ड रनर्सअप घोषित भए । गुप्ताले रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस तथा खनालले हर्लिक्स बेस्ट फिजिक उपाधिसमेत प्राप्त गरे ।

त्यस्तै, शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल २०२६’, क्रिस्टिना ज्ञवाली ‘मिसेस कोस्मो २०२६’ र ऋचा शर्मा ‘एमएस इन्टरनेसनल २०२६’ घोषित भए । यी तीनै उपाधि विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मोकी विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधिबाट सम्मान गरिएको थियो । नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि पुर्‍याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक शिला बास्तोलाले जानकारी दिइन् ।

निरुताको सम्मानमा उनले अभिनय तथा नृत्य गरेका चलचित्रका गीतमा कलाकार यसराज गराच, शिला गजुरेल र ऋचा थापाले नृत्य प्रस्तुत गरेका थिए । उनीहरूले अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहलाई समेत मञ्चमा सहभागी गराएका थिए ।

प्रतियोगितामा विभिन्न विधाका उपाधिसमेत प्रदान गरिएको थियो । सन्ध्या लामाले अर्ना मोस्ट इनर्जेटिक, सुष्मा थापाले निभिया फ्याबुलस फेस, अञ्जु परियारले मोस्ट ट्यालेन्टेड, शिल्पा न्यौपाने महर्जनले बेस्ट हेयर, दीप्ति ढुंगेलले हेल्दी स्किन र क्रिस्टिना ज्ञवालीले बेस्ट र्‍याम्प वाक उपाधि प्राप्त गरे ।

त्यस्तै, समीक्षा रानाभाटले बेस्ट स्माइल, श्वेच्छा पौड्यालले मोस्ट डिसिप्लिन्ड, कञ्चन महर्जनले फेसन आइकन, सुष्मा थापाले मोस्ट फोटोजेनिक, बिन्दु थापा राणाले मोस्ट कन्फिडेन्ट, यास्मिन बेगम सैयदले मिसेस कन्जेनियालिटी र सुनिता श्रेष्ठ कर्माचार्यले मिसेस ह्युम्यानिटेरियन उपाधि जिते ।

प्रतियोगिताको अन्तिम स्पर्धामा सहभागी हुन काठमाडौं आएकी मिसेस वर्ल्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), अभिनेता राजेश हमाल र अभिनेत्री रेखा थापालगायतले विजेताहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

ह्विस्पर शीर्ष प्रायोजक तथा अर्ना इनर्जी ड्रिंक र निभिया सहप्रायोजक रहेको प्रतियोगिताको निर्णायकमा अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, नेपाल प्रहरीकी पूर्वएआईजी मीरा चौधरी, सिप्रदी अटोपार्ट्सका उपाध्यक्ष युवराज बुढाथोकी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मिसेस नेपाल वर्ल्ड २०२४ डा. डेनिला कार्की रहेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।