पत्रकारमाथिको धरपकड र दमन लोकतान्त्रिक मर्मविपरीत : कुलमान घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड, हस्तक्षेप तथा दमनको घोर निन्दा गरेका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै अध्यक्ष घिसिङले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हक नागरिकका मौलिक अधिकार भएको बताएका छन्।

यी अधिकार कुनै सरकारको इच्छा वा निगाहमा निर्भर नरहने स्पष्ट पार्दै उनले निर्वाचित सरकारले नै संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्नुपर्ने बताएका छन्।

‘झन्डै दुई तिहाइ जनमतको समर्थन प्राप्त निर्वाचित सरकारले संविधानको संरक्षण, लोकतान्त्रिक मूल्य–मान्यताको संवर्द्धन र नागरिक अधिकारको सुनिश्चितता गर्नुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहभित्रै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य अत्यन्त आपत्तिजनक, निन्दनीय र लोकतान्त्रिक मर्मविपरीत छन्,’ विज्ञप्तिमा उल्लेख छ।

सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु, सत्ताको निगरानी गर्नु, सत्यतथ्य उजागर गर्नु र नागरिकलाई सुसूचित गर्नु पत्रकारिताको धर्म भएको घिसिङको भनाइ छ। आलोचनालाई शत्रु ठान्ने र असहमतिका आवाज दबाउने प्रवृत्तिले लोकतन्त्र बलियो नबनाई निरंकुशतालाई प्रश्रय दिने उनले बताएका छन्।

लोकतन्त्रको वास्तविक शक्ति बहुमतमा मात्र नभई नागरिक स्वतन्त्रता, विधिको शासन र जवाफदेहितामा निहित हुने उल्लेख गर्दै घिसिङले सरकार जतिसुकै शक्तिशाली भए पनि संविधानभन्दा माथि हुन नसक्ने स्पष्ट पारेका छन्।

‘बहुमतले शासन गर्ने अधिकार दिन्छ, नागरिकका मौलिक अधिकार कुण्ठित गर्ने छुट दिँदैन,’ उनले भनेका छन्।

उज्यालो नेपाल पार्टीले प्रेस स्वतन्त्रतामाथि हुने सबै प्रकारका हस्तक्षेप, धरपकड र दमन तत्काल बन्द गर्न, पक्राउ परेका पत्रकारहरूको कानुनी अवस्था सार्वजनिक गर्न, उनीहरूको संवैधानिक अधिकार सुनिश्चित गर्न तथा स्वतन्त्र र निर्भीक पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।