विराटनगर । लामो समयदेखि विवादास्पद बन्दै आएको मोरङ कारागारको ‘बी’ ब्लकबाट बिहीबार प्रहरीले १० लाखभन्दा बढी रकमसहित फलामका ८ वटा रड बरामद गरेको छ ।
कैदीबन्दीलाई राखिने मोरङ कारागारको ‘बी’ ब्लक सधैँ विवादास्पद बन्दै आएको थियो । त्यहाँ हरेक दिनजसो कैदीबन्दीको नाराबाजी हुने मात्र नभएर त्यहीँका कैदीबन्दीले अन्यलाई आर्थिक र शारीरिक शोषण गर्ने गरेको सर्वत्र गुनासो थियो ।
केही दिन पहिलासम्म ‘बी’ ब्लकमा हरेक दिन कैदीबन्दीको नाराबाजी हुँदै आएको थियो । त्यहाँबाट मोरङ प्रशासनले दुई चरणमा ३७ जना कैदीबन्दीलाई स्थानान्तरण गरेपछि बिहीबार प्रहरीले त्यहाँ छापा मारेको हो ।
कारागारको ‘बी’ ब्लकमा लामो समयदेखि भारतीय नागरिक चन्चल बर्मा र मनिष विकको समूहले प्रभाव जमाउँदै ‘समानान्तर आन्तरिक प्रशासन’ सञ्चालन गरेको आरोप लाग्दै आएको थियो । उनीहरूको विरोध गर्ने कैदीबन्दीलाई यातना दिने र आर्थिक शोषणसमेत गरेको गुनासो बढेपछि त्यहाँको सुरक्षा व्यवस्थामा प्रहरीले केही समययता निगरानी बढाएको थियो ।
यसैक्रममा ‘बी’ ब्लकबाट दुई चरणमा चञ्चल र मनिषसहित ३७ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको थियो । पहिलो चरणमा १९ र दोस्रो चरणमा १८ जनालाई स्थानान्तरण गरेर बिहीबार प्रहरीले छापा मारेको हो ।
बिहीबार कारागारको ‘बी’ ब्लकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सर्च गर्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र आठवटा फलामे रड बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए ।
कारागारभित्र सर्च गर्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र आठवटा रड बरामद भएको छ । यो रकम र फलामे रड किन र के प्रयोजनका लागि कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको कटुवालले बताए ।




Comment