कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार नवनिर्वाचित सभापति गगनकुमार थापाबाहेक अन्य सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ लिनेछन्। सभापति थापाले यसअघि असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटक शपथ ग्रहण कार्यक्रमलाई फरक ढाँचामा सञ्चालन गरिनेछ। नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आजै पदबहालीसमेत गराइने उनले जानकारी दिएका छन्।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। महाधिवेशनको मतदान असोज २३ गते भएको थियो भने सभापति पदको मतगणना सोही दिन राति राष्ट्रिय सभागृहमा गरिएको थियो। सभापतिको मतपरिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो।

अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो। सदस्य सचिव कटुवालका अनुसार यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ। यसअघि १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो।

यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो। कुल २२९ पदका लागि निर्वाचन भएको महाधिवेशनमा ७७ प्रकारका पद रहेका थिए भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।

महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।

शपथ ग्रहण तथा पदबहालीपछि नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ। बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी, बैठकमा पार्टीका आगामी जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।