लक्ष्मी सनराइज बैंकको नाफा २३.२६ प्रतिशत घट्यो, खराब कर्जा र प्रोभिजन खर्चले बढायो दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको वित्तीय प्रतिवेदनले नाफा र प्रमुख वित्तीय सूचकहरूमा दबाब देखिएको भए पनि व्यवसाय विस्तारतर्फ भने उल्लेखनीय प्रगति भएको संकेत गरेको छ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ४ अर्ब ६ करोड २० लाख रुपैयाँको तुलनामा २३.२६ प्रतिशतले कम हो।

बैंकको नाफामा आएको गिरावटको मुख्य कारण निष्क्रिय कर्जा वृद्धि र त्यसबाट उत्पन्न सम्भावित जोखिम व्यवस्थापनका लागि गरिएको उच्च प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) हो। अर्थतन्त्रमा देखिएको सुस्तताका कारण ऋणीहरूले समयमै सावाँ–ब्याज भुक्तानी गर्न नसक्दा बैंकको कुल निष्क्रिय कर्जा अनुपात ४.३५ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत पुगेको छ।

यसै कारण बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि ३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ प्रोभिजन छुट्याएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो प्रोभिजन १ अर्ब २५ करोड ८० लाख रुपैयाँ मात्रै थियो। प्रोभिजन खर्चमा आएको उल्लेख्य वृद्धिले बैंकको नाफामा प्रत्यक्ष दबाब परेको हो।

खुद ब्याज आम्दानीमा सुधार

नाफा घटे पनि बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा १० अर्ब ८५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि वृद्धि भई २ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, आम्दानीमा सुधार भए पनि सञ्चालन खर्चमा भएको वृद्धिले नाफा घटाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। बैंकको कर्मचारी खर्च अघिल्लो वर्षको ४ अर्ब ९१ करोड रुपैयाँबाट बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अन्य सञ्चालन खर्च पनि १ अर्ब ३८ करोड रुपैयाँबाट बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

नाफामा आएको गिरावटसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि अघिल्लो वर्षको १६ रुपैयाँ ६८ पैसाबाट घटेर ११ रुपैयाँ ६४ पैसामा झरेको छ।

निक्षेप र कर्जा व्यवसायमा उल्लेखनीय वृद्धि

नाफा घटे पनि बैंकको व्यवसायिक आकार भने विस्तार भएको छ। २६ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले निक्षेप संकलन १५.६२ प्रतिशतले बढाएर ४ खर्ब २४ अर्ब ३८ करोड रुपैयाँ पुर्‍याएको छ।

त्यस्तै, कर्जा लगानी पनि ११.४८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म २ खर्ब ७४ अर्ब ९६ करोड रुपैयाँ रहेको कर्जा लगानी बढेर ३ खर्ब ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। बैंकले एक वर्षको अवधिमा करिब ३० अर्ब रुपैयाँ थप कर्जा विस्तार गरेको हो।

लाभांश क्षमतामा गिरावट

नाफा घटेसँगै बैंकको लाभांश वितरण क्षमता पनि कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार समायोजनपछि बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ कायम भएको छ।

यसका आधारमा बैंकको लाभांश क्षमता ६.७९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको १२.१८ प्रतिशतको तुलनामा उल्लेख्य रूपमा कम हो।

नियामकीय समायोजनका क्रममा असुल हुन बाँकी ब्याजबापत ४ करोड ७२ लाख रुपैयाँ नाफाबाट घटाउनुपरेको बैंकले जनाएको छ। यद्यपि, गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा प्राप्त सफलताका कारण १४ करोड ७५ लाख रुपैयाँ लाभांश वितरणयोग्य रकममा थपिएको छ।

पुँजीकोष र तरलता स्थिति सन्तोषजनक

समीक्षा अवधिमा बैंकको खुद निष्क्रिय कर्जा अनुपात १.०७ प्रतिशतबाट सामान्य वृद्धि भई १.१३ प्रतिशत पुगेको छ।

पुँजी पर्याप्तताको दृष्टिले बैंक सन्तोषजनक अवस्थामा रहेको देखिन्छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल पुँजीकोष अनुपात १२.०३ प्रतिशत तथा प्राथमिक पुँजी अनुपात ९.९० प्रतिशत रहेको छ।

बजारमा तरलता सहज बन्दै जाँदा बैंकको आधार दर ६.५० प्रतिशतबाट घटेर ५.०५ प्रतिशतमा झरेको छ। ब्याजदर अन्तर (स्प्रेड दर) पनि ३.५१ प्रतिशतबाट घटेर ३.२२ प्रतिशतमा सीमित भएको छ।

बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.७७ प्रतिशत रहेको छ, जसले बैंकसँग आगामी दिनमा थप कर्जा विस्तार गर्न पर्याप्त लगानीयोग्य स्रोत उपलब्ध रहेको संकेत गर्दछ।

समग्रमा, आर्थिक वर्ष २०८२/८३ मा लक्ष्मी सनराइज बैंकले व्यवसाय विस्तारमा उल्लेखनीय सफलता हासिल गरे पनि बढ्दो निष्क्रिय कर्जा, उच्च प्रोभिजन खर्च तथा सञ्चालन लागत वृद्धिका कारण नाफामा दबाब खेप्नुपरेको देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।