काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसर पारेर बुधबार (कात्तिक १८ गते) काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले २०६४ कात्तिक १८ गते पहिलोपटक कारोबार सुरु गरेको थियो । सोही दिनको अवसर पारेर नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष दिलीपप्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बालुवाटार शाखाको उद्घाटन गरेका हुन् ।
नयाँ शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।
आम नागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिइरहेको बैंकले जनाएको छ ।
बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिको वृद्धिमा मात्र सीमित नराखी स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने माध्यमका रूपमा लिएको छ ।
बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकलाई आवश्यक वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।
राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।




Comment