काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रहेको चर्चित गीत ‘सिक्का नोटैमा’ ले युट्युबमा १ करोडभन्दा बढी भ्युज प्राप्त गरेको छ। सार्वजनिक भएको करिब एक महिनामै गीतले १० मिलियन (१ करोड) भ्युजको आँकडा पार गर्दै उल्लेखनीय सफलता हासिल गरेको हो।
गीतले युट्युबमा १ करोड भ्युज पार गरेपछि गीतसँग आबद्ध सम्पूर्ण टिमले केक काटेर खुसीयाली मनाएको जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको ‘सिक्का नोटैमा’ टिकटक, फेसबुक, इन्स्टाग्राम लगायत विभिन्न डिजिटल प्लेटफर्ममा प्रयोग हुने लोकप्रिय गीतमध्ये एक बनेको छ। छोटो समयमै दर्शक तथा श्रोतामाझ गीतले उल्लेखनीय लोकप्रियता हासिल गरेको छ।
गीतमा आईजीपी कार्कीको शब्द रहेको छ भने चर्चित गायिका मेलिना राई र गायक समीर खरेलले स्वर दिएका छन्। गीतको संगीत समीर खरेलले नै तयार गरेका हुन्।
सरोज वली प्रस्तुतकर्ता रहेको गीतको म्युजिक भिडिओमा अभिनेत्री अञ्जना बराइली र प्रदीप लामा मुख्य भूमिकामा देखिएका छन्। आकर्षक प्रस्तुति, शब्द र संगीतका कारण गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
युट्युबमा १ करोड भ्युज पार गरेसँगै ‘सिक्का नोटैमा’ पछिल्लो समय नेपाली सांगीतिक बजारमा सर्वाधिक चर्चित गीतमध्ये एकका रूपमा स्थापित भएको छ।





Comment