इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार बिहान सामाजिक सञ्जालमार्फत सरकारसँग यस्तो माग गरेका हुन्। उनले हिरासतमा रहेका व्यक्तिलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोजिएको र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग भइरहेको भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने बताएका छन्।

आङ्देम्बेले कांग्रेस सभापति गगन थापालगायत अन्य व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गर्ने तथा तयार पारिएको कागज पढ्न बाध्य पार्ने काम भइरहेको भन्ने आरोपबारे गम्भीर प्रश्न उठाएका छन्।

हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले गम्भीर प्रश्नहरू जन्माएको उनको भनाइ छ। अनुसन्धानका नाममा कसैलाई दबाब दिएर बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको उनले उल्लेख गरेका छन्।

उनले सरकारलाई प्रश्न गर्दै इनम सापकोटा प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ वा नियोजित रूपमा फसाउने षड्यन्त्र भइरहेको छ भन्ने विषयमा स्पष्ट पार्न माग गरेका छन्।

आङ्देम्बेका अनुसार यस्तो घटना भएको भए त्यो राजनीतिक प्रतिशोधको विषय मात्र नभई राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो।

सत्ता स्थायी नहुने तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्ने उल्लेख गर्दै उनले नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका पक्षमा आफ्नो अडानमा कायम रहेको बताएका छन्।

उनले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषी देखिए जोसुकैलाई पनि कानुनबमोजिम कारबाही गर्न र तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा नभई न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको उनको भनाइ छ। राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार बन्न नहुने भन्दै उनले सरकार संविधान र विधिको शासनअनुसार चल्नुपर्नेमा जोड दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।