‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग पहिलो पटक औपचारिक भेटवार्ता गरेका छन् ।

निजी क्षेत्रलाई विश्वासमा लिएर देशको अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने उद्देश्यका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल आयोजना भएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

छलफलमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको बताएका थिए ।

उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्याहरू समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा सहभागी भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकुमार अग्रवालले व्यवसायलाई मर्यादित र सहज बनाउने क्रममा राजस्व नीति, शेयर बजार र एमआरपी लगायतका विषयमा कुराकानी भएको बताए ।

व्यवसायीहरूलाई तर्साउने वा अनावश्यक धरपकड गर्ने सरकारको कुनै नीति नरहेको र कानुनसम्मत ढङ्गले व्यवसाय गर्ने वातावरणका लागि सरकार सदैव सकारात्मक रहेको सन्देश पनि यस भेटमा प्रधानमन्त्रीले दिएको उनले नेपाल प्रेसलाई बताए ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग-व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार-निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकता औंल्याउँदै आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री शाहले प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्यहरू अघि बढाइने र आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारेका थिए ।

छलफलमा शेयर बजारको लागत, विकास र पुँजी बजारलाई थप चलायमान बनाउने विषयले पनि प्राथमिकता पाएको छ । पुँजी बजारलाई पारदर्शी, वास्तविक लगानीकर्तामैत्री बनाउनुपर्ने र बजारमा देखिने अनावश्यक स्पेक्युलेसनलाई हटाउनुपर्ने विषयमा छलफल भएको थियो ।

विगतका मौद्रिक नीतिको प्रभाव र अर्थतन्त्रका अन्य पाटोहरूलाई समेत समेट्दै शेयर बजारको लागत न्यूनीकरण गर्न र बजारलाई स्वच्छ रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको छ ।

उक्त बैठक तथा छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, तथा सांसद विदुषी राणा सहभागी भएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।