धादिङ। धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिकामा छैटौं गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता आयोजना हुने भएको छ। असार १९ गते नेत्रावती डबजोङ्ग–१ मार्पाकस्थित श्री निरञ्जना माध्यमिक विद्यालयमा ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता–२०८३’ सम्पन्न गरिने भएको हो।
निरञ्जना भूतपूर्व शिक्षक तथा विद्यार्थी छात्रवृत्ति कोष २०५६ को संरक्षणमा, श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा तथा मार्पाक सामुदायिक क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो। साथै श्री निरञ्जना एसइई ब्याच २०५६ सह–आयोजक रहेको छ। कार्यक्रमको मुख्य प्रायोजन चन्द्र ब.–बुनादेवी अधिकारी अक्षयकोष समितिले गरेको छ।
प्रतियोगितामा गाउँपालिका भित्रका विद्यालयहरूबाट कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन्। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कारस्वरूप नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ। त्यसैगरी चौथो र पाँचौं स्थान प्राप्त गर्ने तीन जना विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाण–पत्र दिइनेछ भने छैठौं स्थान हासिल गर्ने चार जनालाई आकर्षक उपहारसहित प्रमाण–पत्र प्रदान गरिनेछ। सहभागी सबै विद्यार्थीलाई सान्त्वना स्वरूप सहभागिता प्रमाण–पत्र दिइने आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक तथा मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै नेपाली भाषाको शुद्ध लेखन अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।
प्रतियोगिताको अनलाइन मिडिया पार्टनरमा जनअपडेट डटकम, भिजन न्यूज नेपाल डटकम, क्लिक बुलेटिन डटकम र धादिङ सञ्चार डटकम रहेका छन्। त्यसैगरी टिभी पार्टनरमा दिव्य दर्शन टेलिभिजन र रेडियो पार्टनरमा निलकण्ठ एफएम रहेको आयोजकले जनाएको छ।

Comment