काठमाडौं । ‘सर्ट फिल्म डेभलभमेन्ट ल्याब’ का लागि यस वर्ष ६ वटा लघु फिल्म छनोट भएका छन्। चलचित्र ल्याबले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँगको सहकार्यमा सञ्चालन गरेको ल्याबमा ‘काख’, ‘अम्ब्रेला ओभर द ल्याम्ब’, ‘ह्वेयर आइ स्ट्याण्ड’, ‘फोर गेस्ट ओन्ली’, ‘पारिजात’ र ‘उल्टो आकाश’ छनोट भएका हुन्।
नयाँ निर्देशक तथा निर्माता लक्षित उक्त प्लेटफर्ममार्फत छनोट भएका फिल्मलाई मार्गदर्शनदेखि प्रस्तुतीकरण प्लेटफर्मसम्मको सुविधा प्रदान गरिने आयोजकले जनाएको छ। सहभागी फिल्मकर्मीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मीहरूले मार्गदर्शन गर्नेछन्।
ल्याबमा सहभागी फिल्मकर्मीले निर्माणाधीन लघु कथाको लेखन, वितरण र अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म पहुँच विस्तारबारे अनुभव तथा ज्ञान हासिल गर्ने बताइएको छ। चलचित्र ल्याबका संस्थापक प्रविण कुमार रावतले सहभागी फिल्मकर्मीले किम्फ चलचित्र महोत्सवअन्तर्गत उद्योग प्रस्तुतीकरण सत्रमा आफ्ना परियोजना प्रस्तुत गर्ने जानकारी दिए।
उनका अनुसार किम्फको अन्तिम दिन विजेताको घोषणा गरिनेछ। उत्कृष्ट परियोजनालाई क्रमशः ३ लाख, २ लाख र १ लाख रुपैयाँको निर्माण अनुदान प्रदान गरिनेछ। साथै, फिल्म निर्माणका लागि क्यामेरा, पोस्ट–प्रोडक्सन, लाइट्स र ग्रीप सहयोगस्वरूप तीन वटा ‘इन काइन्ड इन्भेस्टमेन्ट अवार्ड’ समेत उपलब्ध गराइनेछ।
ल्याबका लागि कुल ३२ वटा आवेदन परेको थियो। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र इन्डोनेसियाका फिल्मकर्मीले पनि सहभागिताका लागि आवेदन दिएका थिए।
चलचित्र ल्याबका अर्का संस्थापक सुशान्त श्रेष्ठका अनुसार प्रारम्भिक छनोटमा १५ फिल्म छानिएका थिए। त्यसपछि छनोट समितिले उत्कृष्ट १० फिल्म छनोट गरेको र अन्तिम चरणको अन्तर्वार्तापछि ६ फिल्म अन्तिम सूचीमा परेका हुन्।
पाँच दिनसम्म सञ्चालन हुने उक्त ल्याब जेठ ७ देखि ११ गतेसम्म आयोजना हुनेछ भने विजेताको घोषणा जेठ १७ गते गरिने आयोजकले जनाएको छ।
यस वर्षको ल्याबमा बंगलादेशका तन्वीर हुसेन, दक्षिण कोरियाका जेम्स ब्याङ्ग, नेपालका फिल्मकर्मी केशव पाण्डे, निर्देशक सुजित बिडारी, फिल्म सम्पादक निमेष श्रेष्ठ तथा बेलायतका अजय राई मेन्टरका रूपमा रहनेछन्।

Comment