काठमाडौं । उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि फिल्म लालीबजार को नयाँ प्रदर्शन मिति तय गरिएको छ । अब यो फिल्म आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो ।
फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का ले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म प्रदर्शनको बाटो खुलेको जानकारी दिएकी छन् । उनले अदालतको आदेशपछि फिल्म प्रदर्शन गर्न सहज भएको उल्लेख गर्दै आमा र छोरीबीचको भावनात्मक सम्बन्ध तथा संघर्षको कथा दर्शकमाझ ल्याउन आफूहरू तयार रहेको बताएकी छन् ।
उनले फिल्मको उद्देश्य कुनै पनि समुदाय वा वर्गको भावनामा ठेस पुर्याउने नभएको स्पष्ट पार्दै यो कथा आमाको संघर्ष र ममतामाथि केन्द्रित रहेको दाबी गरेकी छन् ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले रोशनी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि अदालतले वैशाख १५ गते अल्पकालीन आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
अदालतले केन्द्रीय चलचित्र जाँच समितिबाट जारी प्रदर्शन अनुमति सम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएपछि बुधबार उक्त रिटमाथि अन्तिम सुनुवाइ भएको हो । यसअघि फिल्म वैशाख १८ गतेदेखि प्रदर्शन गर्ने तयारीमा रहेको थियो ।
निर्देशक यम थापा को निर्देशनमा बनेको फिल्म लालीबजार वादी समुदायका महिलाले भोग्ने संघर्ष र सामाजिक यथार्थमा आधारित रहेको बताइएको छ । फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदी को अभिनय रहेको छ ।

Comment