काठमाडौं । वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मालती मंगले’ को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा मंगले (विजय बराल) र मालती (वर्षा राउत) बीचको प्रेम कथा, उनीहरूको सम्बन्धमा आउने उतारचढाव तथा पारिवारिक द्वन्द्वलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ। ट्रेलरमा अभिनेता मेक्सम गौडेल ‘हरि’ नामक नकारात्मक भूमिकामा देखिएका छन्, जसले कथालाई थप रोचक बनाएको छ। साथै, साथीभाइबीचको सम्बन्ध र त्यसमा आउने परिवर्तनलाई पनि ट्रेलरमा समेटिएको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मको निर्देशन प्रकु पाण्डेयले गरेका हुन्। फिल्मको कथा स्वयं निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्।
फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ।
कार्यकारी निर्माता सागर ज्ञवाली रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्।
प्राविधिक पक्षतर्फ महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको फिल्मले दर्शकमाझ राम्रो अपेक्षा जगाएको छ।

Comment