काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडन निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन गरिएको छ। भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा प्रिमियर भएको यो फिल्म निफको ‘सिजाङ पानोरमा’ अनुभागमा देखाइएको हो। तिब्बती गोठालाहरूको जीवन र मानव–प्रकृतिबीचको सहअस्तित्वको कथा प्रस्तुत गर्ने फिल्मले भेनिसमा पनि चर्चा पाएको थियो।
शनिबार ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्राम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ पनि भृकुटी मण्डपस्थित पर्यटन बोर्ड हलमा प्रदर्शन भए। यी फिल्महरूले स्थानीय सेवा पहल, शिक्षा मुद्दा र ग्रामीण परिवारमा आएको सामाजिक–आर्थिक परिवर्तनलाई केन्द्र बनाएका छन्।
यस अनुभाग अन्तर्गत आइतबार ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजाङ २०२६’ पनि प्रदर्शन हुनेछ। ‘सिजाङ पानोरमा’ निफको प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शन कार्यक्रम हो। साथै, शनिबार निफ प्रतिस्पर्धामा रहेका अन्य फिल्महरू विभिन्न हलहरूमा प्रदर्शन भए भने ‘निफ फिचर पिच’मा युवा लेखकहरूले आफ्ना कथा प्रस्तुत गरे।

Comment