काठमाडौँ । लिउड अभिनेता रणवीर सिंहको मुख्य भूमिकामा रहेको फिल्म ‘धुरन्धर २’ बक्स अफिसमा जबरजस्त प्रभाव बनाउँदै छ। रिलिजको मात्र ६ दिनमै फिल्मले विश्वभर ९१९ करोड भारतीय रुपैयाँ कमाउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
घरेलु बक्सअफिसमा फिल्मले ६८७.४३ करोड ग्रस कलेक्सन गरेको छ। यससँगै ‘धुरन्धर २’ दक्षिण भारतीय फिल्म ‘पुष्पा २’सँग बराबरी गर्दै सबैभन्दा छिटो ९०० करोड पार गर्ने फिल्मको रेकर्डमा नाम लेखाएको छ। यी दुवै फिल्मले मात्र ६ दिनमै यो उपलब्धि हासिल गरेका हुन्।
फिल्मले आमिर खानको ‘सिक्रेट सुपरस्टार’ र रणबीर कपूरको ‘एनिमल’ जस्ता ब्लकबस्टरहरूको लाइफटाइम कलेक्सन समेत उछिनेको छ। भारतमा मात्र फिल्मले ५७५.६७ करोड नेट कलेक्सन गरेको छ, जसमा हिन्दी भर्सनको दबदबा सबैभन्दा बढी देखिएको छ।
आदित्य धरको निर्देशनमा बनेको ‘धुरन्धरस् द रिभेन्ज’ पहिलो फिल्म ‘धुरन्धर’को सिक्वेल हो। यसमा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा छन्। फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवनको अभिनयले पनि दर्शकको मन जितेको छ।
पहिलो भाग ‘धुरन्धर’ गत वर्ष डिसेम्बर ५ मा रिलिज भएको थियो र विश्वभर १३०७ करोड भारु कमाएर ब्लकबस्टर सिद्ध भएको थियो। यो सिक्वेलले पहिलो भागको सफलता झन् उच्च स्तरमा पुर्याएको विश्लेषकहरूले बताएका छन्।

Comment