कालिन्चोक केबलकारको व्यापार घट्यो, ३५ करोड लगानीमा होटल बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दोलखाको कालिन्चोकमा केबलकार सेवा सञ्चालन गर्दै आएको कालिन्चोक दर्शन प्रालिको व्यापार अघिल्लो वर्षको तुलनामा घटेको छ। कम्पनीका अनुसार सन् २०२५ मा कम्पनीको कुल कारोबार सन् २०२४ को तुलनामा करिब ७ प्रतिशतले कमी आएको हो।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२४ मा ८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२५ मा ७ करोड ९० लाख रुपैयाँमा सीमित रह्यो। यसअघि सन् २०२३ मा भने कम्पनीको व्यापार ७ करोड ६० लाख रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षमा व्यापार घट्नुको प्रमुख कारण प्रतिकूल मौसम रहेको कम्पनीले जनाएको छ। विशेषगरी हावाहुरीका कारण कालिन्चोक क्षेत्रमा पर्यटकको आगमन घट्दा आम्दानीमा असर परेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार गत आवमा कुल १ लाख ५३ हजार ७ सय ९७ जना पर्यटकले कालिन्चोक भ्रमण गरेका थिए। यद्यपि व्यापार घटे पनि कम्पनीले सो अवधिमा ६५.४८ प्रतिशत नाफा आर्जन गर्न सफल भएको जनाएको छ।

चालु आर्थिक वर्षमा भने कम्पनीको व्यापारमा सुधार देखिएको छ। चालु आवको पहिलो ६ महिनामा कम्पनीको आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढेको छ। गत आवको ६ महिनामा ३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा ३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ।

पर्यटक आगमनमा समेत उल्लेखनीय वृद्धि देखिएको छ। गत आवको सो अवधिमा ५९ हजार ६ सय ४६ जना पर्यटक पुगेकोमा चालु आवमा ७१ हजार ९ सय ८५ जना पर्यटकले कालिन्चोक भ्रमण गरेको कम्पनीले जनाएको छ।

सन् २०१५ मा स्थापना भएको कालिन्चोक दर्शन प्रालिले दोलखाको कालिन्चोक क्षेत्रमा एक किलोमिटर लामो केबलकार सेवा सञ्चालन गर्दै आएको छ। चारवटा गोन्डोला रहेको केबलकार प्रणालीमार्फत कुरी भ्यालीदेखि कालिन्चोक मन्दिरसम्म सेवा प्रदान गरिँदै आएको छ। केबलकारले प्रतिघण्टा अधिकतम १ सय ९२ जना यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ।

कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटीको नेतृत्वमा केबलकारसँगै होटल व्यवसाय विस्तार गर्ने योजना समेत अघि बढाइएको छ। कम्पनीले करिब ३५ करोड रुपैयाँ लगानीमा ३० कोठासहितको होटल निर्माण गर्ने तयारी गरेको छ। हाल होटल निर्माण प्रक्रिया योजनाकै चरणमा रहेको जनाइएको छ।

होटल परियोजनाका लागि कम्पनीले १ः१ अनुपातमा राइट सेयर जारी गरी इक्विटीमार्फत लगानी जुटाउने योजना बनाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ पुगेको छ, जुन यसअघि रहेको ६० करोड रुपैयाँमा बोनस सेयर वितरणपछि वृद्धि भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।