काठमाडाैँ । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबार मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए ।
मेची भन्सारसहित मुलुकका ८ वटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो । वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चुहावटमा कमी आउने प्रमुख कर अधिकृत न्यौपानेले बताए । विश्व व्यापार सङ्गठनले अनलाइन भ्यालुएसन प्रणाली लागू गर्न आफ्ना सदस्य मुलुकलाई आग्रह गर्दै आएको थियो ।
प्रणाली शुभारम्भ गर्न आएका अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले यस प्रणालीबाट भन्सारमा हुने विभिन्न किसिमका अनियमितता र अनौपचारिक कारोबारमा कमी आउने बताए । उनले सरकारले भन्सारमा सुशासन र करदाता मैत्री व्यवस्थालाई प्रोत्साहित गरिरहेको जनाउँदै प्रणाली कार्यान्वयनमा निजी क्षेत्रले सहजीकरण गर्नुपर्ने बताए ।
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य लिएको छ । जसमध्ये चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा ६ अर्ब ८२ करोड २ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन गरिसकेको कार्यालयले जनाएको छ ।

Comment