पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण, डलर महँगिदा सरकारलाई थपियो ७७ अर्ब दायित्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच महिनामा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको हो ।

जबकी चालु आवको सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ सार्वजनिक ऋण थियो भने हाल २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । सो ऋण कुल ग्राहस्थ्य उत्पादनको ४५.६८ प्रतिशत हुन आउँछ । त्यसमा आन्तरिक ऋण १३ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ र बाह्य ऋण १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा डलरको मूल्यमा आएको वृद्धिले पनि ऋणको दायित्व थप भएको छ । तथ्यांक अनुसार डलरमा आएको वृद्धिले ७७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ दायित्व थपिएको छ ।

मंसिरमा मात्रै यस्तो दायित्व ३३ अर्ब ४४ करोड २७ लाख रुपैयाँले थपिएको छ । गत कात्तिक मसान्तसम्म डलरको मूल्यमा आएको वृद्धिले थपिएको ऋणको दायित्वको ४४ अर्ब २२ करोड ५८ लाख रुपैयाँ थियो । मंसिर मसान्तसम्म आउँदा त्यो ७७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ पुगेको हो । यस विदेशी ऋणतर्फ थपिएको दायित्व हो ।

विदेशी ऋण डलरमा भुक्तानी गर्नुपर्छ । पछिल्लो समय डलरको मूल्य बढ्दै आएपछि विदेशी ऋणको दायित्व पनि थपिएको हो।

सरकारले कति ऋण प्राप्त गर्यो

समीक्षा अवधिमा सरकारले एक खर्ब ७५ अर्ब १२ करोड ३१ लाख रुपैयाँ ऋण लिएको छ । जुन वार्षिक लक्ष्यको २९.४० प्रतिशत हो । सरकारले यो वर्ष ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । त्यसअनुसार अब ४ खर्ब २० अर्ब ५४ करोड रुपैयाँ ऋण उठाउन बाँकी छ ।

समीक्षा अवधिमा सरकारले आन्तरिक तर्फ वार्षिक लक्ष्यको ४०.७९ प्रतिशत अर्थात् १ खर्ब ४७ अर्ब ऋण उठाएको छ । यो वर्ष सरकारले ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण प्राप्त गर्ने लक्ष्य राखेको छ । यसमा अब २ खर्ब १४ अर्ब ३३ करोड रुपैयाँ ऋण उठाउन बाँकी रहेको तथ्यांकले जनाएको छ ।

त्यस्तै, बाह्य ऋण परिचालनमा भने सरकार कमजोर देखिएको छ । यो वर्ष २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखेको छ । जसमा हालसम्म २७ अर्ब ४५ करोड रुपैयाँ मात्रै बाह्य ऋण प्राप्ति भएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ११.७५ प्रतिशत मात्रै हो । सरकारले अझै २ खर्ब ६ अर्ब २० करोड रुपैयाँ बाह्य ऋण प्राप्ति गर्न बाँकी रहेको छ ।

चालु बजेटमा सरकारले ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये वर्षका पाँच महिनासम्ममा एक खर्ब ६७ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । तथ्यांक अनुसार आन्तरिक ऋणमध्ये मंसिरसम्ममा एक खर्ब ३७ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी गरिएको छ । यसमा साँवा भुक्तानी एक खर्ब १४ अर्ब २६ करोड र ब्याज भुक्तानी २३ अर्ब ४२ करोड रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।