काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘पीआर’ को टाइटल गीत सार्वजनिक गरिएको छ। यहीँ शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टाइटल ट्र्याक ‘पीआर को चक्करले’ बुधबार युट्युबमार्फत रिलिज गरिएको हो।
मानस राजको शब्द र संगीत रहेको उक्त गीतमा मानस स्वयं र समिक्षा अधिकारीले स्वर दिएका छन्। सार्वजनिक गरिएको भिडिओमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ। गीतको कोरियोग्राफी निर्देशक बस्नेत स्वयंले गरेका छन्।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा रहेका छन्। साथै नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की विशेष भूमिकामा देखिनेछन्।
प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’ को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। फिल्मका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। निर्माण पक्षका अनुसार फिल्मले विदेश जाने नेपाली युवाको सपना, चुनौती र त्यस पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ।
फिल्मको सम्पादन बन्दे प्रसाद, लेखन गणेश बुढाथोकी, छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। फिल्मको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।
फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारी छ।

Comment