काठमाडौं । ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माणमा जाने भएको छ । यो आयोजना यही मंसिर ५ गतेबाट निर्माणमा जाने भएको हो । दिव्यज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको यो आयोजना निर्माणमा जाने जानकारी कम्पनीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
दिव्य ज्योति हाइड्रोपावरले निर्माण गर्न लागेको यो आयोजना पब्लिक लिमिटेड कम्पनीले अघि बढाएको परियोजना हो। कम्पनीमा हाल १५० भन्दा बढी सेयरधनी छन् । स्वदेश तथा विदेशमा रहेका नेपालीबाट साना–साना पुँजी संकलन गरी आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढाइएको कम्पनीले जनाएको छ ।
आयोजनामा अपि पावर कम्पनी लिमिटेडको कम्तीमा ५१ प्रतिशत लगानी रहनेछ । अपि पावर नेपालमा जलविद्युत् तथा सोलार आयोजना निर्माणमा सक्रिय एक पुरानो र परिचित कम्पनी हो, जसले हालसम्म ६ वटा जलविद्युत् तथा ४ वटा सोलार आयोजना सहित १० भन्दा बढी आयोजना सम्पन्न गरिसकेको छ ।
अपि समूहभित्र अहिले २२ भन्दा बढी जलविद्युत् तथा सोलार आयोजना निर्माण भइसकेका छन् भने समूहले ३०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ। अपि पावर कम्पनीमा १ लाख ५० हजारभन्दा बढी सेयरधनी रहेका छन्, जसमा ५ वटा कम्पनीका सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भई नियमित कारोबार भइरहेको छ ।
मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना देशको राष्ट्रिय प्राथमिकतामा परेका आयोजनामध्ये एक हो । यस आयोजनाबाट उत्पादन हुने विद्युत् देशमा रहेको ऊर्जा संकट न्यूनीकरण तथा मुलुकको अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ ।
आयोजना निर्माणका लागि आवश्यक ऋण स्वदेशी वाणिज्य बैंकहरूले उपलब्ध गराउने छन् । स्थानीय स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
दिव्य ज्योति हाइड्रोपावर कम्पनी ऐन २०६३ अनुसार दर्ता भई उर्जा क्षेत्रसँग सम्बन्धित कार्य गर्दै आएको कम्पनी हो। कम्पनीले २०७५ भदौ १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरेको छ । २०७४ असोज १ मा प्राप्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरिसकेको छ ।
२०७६ असोज ३० मा जलश्रोत तथा सिंचाई मन्त्रालयबाट सर्वेक्षण अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आयोजना निर्माणका क्रममा वातावरण, संस्कृति तथा पुरातात्विक पक्षहरूलाई विशेष महत्व दिइनेछ र न्यूनतम क्षति हुनेगरी निर्माण कार्य अघि बढाइनेछ।
यस आयोजनालाई प्रवाहमुखी परियोजना भएको भन्दै कम्पनीले यसलाई ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जस्तो जलाशययुक्त आयोजना नभएको स्पष्ट गरेको छ।
आयोजना सञ्चालनका लागि ७० घनमिटर पानी मात्र आवश्यक पर्ने र नदीमा वार्षिक औसत १५० घनमिटर बहाव हुने भएकाले बाँकी पानी वातावरणीय रूपमा पर्याप्त हुने विज्ञप्तिमा उल्लेख छ।
स्थानीयको सीप तथा दक्षताका आधारमा रोजगारी प्रदान गरिने तथा निर्माण प्रक्रियामा मसानघाटदेखि प्रभावित क्षेत्रसम्मका सबै सम्भावित असरलाई ध्यानमा राखेर कार्य अघि बढाइने कम्पनीले जनाएको छ। परियोजना क्षेत्रका पर्यटन, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रहरूमा कुनै प्रतिकूल प्रभाव नपर्नेगरी योजना कार्यान्वयन गरिनेछ।
विद्युत उत्पादन भएपछि कम्पनीको आम्दानीको २ प्रतिशत तथा प्रति मेगावाट १ लाखका दरले वार्षिक ५० लाख, गरी करीब ३ करोड ५० लाख रुपैयाँ नेपाल सरकारलाई रोयल्टीस्वरूप बुझाउनुपर्नेछ।
रोयल्टी रकम आयोजनाबाट प्रभावित जिल्ला, नगरपालिका तथा वडा कार्यालयमा समेत वितरण हुने भएकाले स्थानीय विकासमा प्रत्यक्ष टेवा पुग्ने उल्लेख छ।
यसले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा खानेपानी, मठमन्दिर, विद्यालय, सडक मर्मत तथा अन्य पूर्वाधार विकासका काम सम्बन्धित निकायसँग समन्वय गरी सञ्चालन गरिनेछ।
कम्पनीले आगामी चरणमा स्थानीयलाई शेयर निष्कासन गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गर्ने योजना पनि सार्वजनिक गरेको छ।
विज्ञप्तिअनुसार नेपाल सरकारले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। मर्स्याङ्दी बेसी ५० मेगावाट आयोजना सो राष्ट्रीय लक्ष्यलाई पूरा गर्न सहयोगी बन्ने कम्पनीको अपेक्षा छ।

Comment