काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त भएर जान लागेका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको बिदाई गरेका छन् । खापुङको बिदाईमा अर्यालले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटै समयमा उल्लेख्य काम गरेको बताए । खापुङले देखाएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरीभित्र कर्मचारीहरूको मनोबल उच्च बनाएको मन्त्री अर्यालको भनाइ छ ।
३० वर्षीय अनिवार्य सेवापछि बुधबार मध्यरातदेखि अवकाशमा जान लागेका खापुङलाई सुखद अवकाश जीवनको बधाई दिँदै मन्त्री अर्यालले खापुङको अनुभव अवकाश जीवन पछि पनि राष्ट्रलाई काम लाग्ने बताए ।
सरकार गठनको परिस्थिति र अवस्थाबारे बताउँदै गृहमन्त्री अर्यालले आईजीपीसँगको सम्बन्ध छोटो नै भए पनि विशेष रहेको बताए । कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले गृह र सुरक्षा संगठनका भूमिका फरक भएता पनि दुवैको लक्ष्य एउटै भएको बताए ।
संगठनको नेतृत्वमा रहेर खापुङले देखाएको कार्यकुशलताको प्रसंशा गर्दै सचिव अर्यालले अवकाश पछिको जीवन थप सफल, सुखमय, फलदायी र ऊर्जाशील रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा आईजीपी खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने बताए । उनले प्रहरीको मनोवल उठाउनु पर्नेमा जोड दिँदै आफ्नो कार्यकालमा समन्वय, सहकार्य र सदभाव देखाउने सबैलाई धन्यवाद दिएका थिए ।

Comment