काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणाली स्वचालित बनाउन एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ। मंगलबार (कात्तिक २५ गते) सम्पन्न कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे।
कार्यकारी निर्देशक सुवेदीले यो सम्झौताले बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई पूर्ण रूपमा अटोमेसनमा रूपान्तरण गर्न मद्दत पुर्याउने बताउँदै बीमकहरूको लगानी प्रक्रिया छिटो, छरितो र त्रुटिरहित हुने विश्वास व्यक्त गरे।
एपीआई इन्टिग्रेशन प्रणालीमार्फत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीको एयरमार्क व्यवस्थापन सहज, सुरक्षित र विश्वसनीय बन्नेछ। यो प्रणालीले प्राधिकरणबाट पठाइने ब्लक तथा अनब्लक रिक्वेस्टहरूलाई स्वतः प्रमाणीकरण गरी सही विवरण भएको अनुरोध मात्र स्वीकृत गर्नेछ भने त्रुटिपूर्ण विवरणहरूलाई स्वचालित रूपमा फिर्ता पठाउने व्यवस्था हुनेछ।
नबिल बैंकले यसका लागि विशेष मिडिलवेयर विकास गरेको छ, जसले बीमकहरूबाट प्राप्त विवरणलाई बैंकको कोर बैंकिङ प्रणालीमा प्रत्यक्ष रूपमा समायोजन गर्नेछ।
यो सम्झौता नेपाल बीमा प्राधिकरणको डिजिटल रूपान्तरण र प्रविधिमैत्री नियमनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले बीमा क्षेत्रको दक्षता, पारदर्शिता र सेवा वितरणमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

Comment