काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले आज पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्दै उनले प्राधिकरणका कर्मचारीहरूलाई आन्तरिक सुशासन कायम राख्न र देशभर बीमाको पहुँच विस्तारमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
सरकारले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नियुक्तिपछि बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथ ग्रहणका क्रममा अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको साख र विश्वसनीयता अभिवृद्धि गर्न निडर र निर्धक्क भएर काम गर्न थापालाई निर्देशन दिएका थिए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका थापालाई सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट आगामी चैतमा अवकाश पाउन लागेका थापाले प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हाल्न पाँच महिनाका लागि केन्द्रीय बैंकबाट काज सरुवा लिनुपर्नेछ ।
प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग हुँदा नै थापाले राष्ट्र बैंकका गभर्नरबाट सहमति लिएर आवेदन दिएका थिए ।
नयाँ नेतृत्वसँगै बीमा क्षेत्रमा आन्तरिक सुशासन, संस्थागत पारदर्शिता, विश्वसनीयता तथा देशभर बीमाको पहुँच विस्तारका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।




Comment